काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अहिले नोटबन्दी गर्ने विषयमा कुनै योजना नबनाएको स्पष्ट पारेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वनस्थलीस्थित पार्टी कार्यालयमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ संवाद कार्यक्रममा सहभागीले नोटबन्दी गर्नुपर्ने विषय उठाएपछि अर्थमन्त्री वाग्लेले सरकारको धारणा सार्वजनिक गरेका हुन्।
उनका अनुसार नेपालमा तत्काल नोटबन्दी लागू गर्ने अवस्था नरहेको सरकारको निष्कर्ष छ। कार्यक्रममा नागरिकहरूले कालोधन तथा अनौपचारिक अर्थतन्त्र नियन्त्रणका लागि नोटबन्दीको विकल्पबारे प्रश्न गरेका थिए।
जवाफमा वाग्लेले नोटबन्दीसम्बन्धी प्रश्नलाई गम्भीर रूपमा लिएको उल्लेख गर्दै हालका लागि यस्तो कदम आवश्यक नरहेको बताए।
“नोटबन्दीका विषयमा यहाँहरूले उठाउनुभएका प्रश्न रोचक छन्। तर, अहिलेको अवस्थामा हामीलाई यो उपयुक्त हुन्छ जस्तो लागेको छैन। सरकारले नोटबन्दीबारे सोचेको छैन,” उनले भने।
अर्थमन्त्री वाग्लेले विगतमा नोटबन्दीको अभ्यास गरेका विभिन्न मुलुकको अनुभव पनि नेपालका लागि सकारात्मक नदेखिएको बताए। नोटबन्दीबाट अपेक्षित परिणाम हासिल गर्न नसकिएका उदाहरण रहेकाले नेपालले पनि यस्तो निर्णय लिनुअघि त्यसका प्रभाव र परिणामलाई गम्भीर रूपमा हेर्नुपर्ने उनको भनाइ थियो।
सरकारले तत्काल नोटबन्दीको बाटो रोज्नुको सट्टा अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि अन्य नीतिगत तथा संरचनागत उपायमा ध्यान दिने संकेत अर्थमन्त्रीले गरेका छन्।




















