कपिलवस्तु जिल्ला लक डाउन

[sharethis-inline-buttons]

कपिलवस्तु, १० चैत्र
जिल्ला प्रशासन कार्यालयले राती १२ बजेबाट कपिलवस्तु जिल्ला लक डाउन गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय तौलिहवामा आज दिउसो बसेको प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरु सहित स्थानीय पालिकाहरुका प्रमुखहरुको वैठकले जिल्लालाई पूर्ण रुपमा लक डाउन गर्ने निर्णय गरेको हो ।

अर्को सूचना जारी नहुन्जेल सम्मका दाङ्ग, अर्घाखांची र रुपन्देही जिल्लासंग जोडिएका सवै नाकाहरु वन्द गरिएको छ । भारतसंग सीमा जोडिएका कृष्णनगर, मर्यादपुर, रंगपर, चाकरचौडा, भिल्मी लगायतका ८ वटा सवै नाकाहरु पूर्ण रुपमा वन्द गरिएको छ । मालवाहक गाडी बाहेकका निजि तथा सार्वजनिक सवै सवारी साधनहरुलाई जिल्ला प्रवेशमा पूर्ण रुपमा रोक लगाईएको छ ।

मालवाहक गाडीका चालक र सहचालकलाई सीमा नाकामा अनिवार्य रुपमा स्वास्थ्य परीक्षण परी जिल्ला प्रवेश गर्न दिईने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेक्सहरुमा नेपाली सेनाका स्वास्थ्यकर्मीहरु स्वास्थ्य परीक्षणका लागि खटिएका छन् । सीमा नाकाबाट हुन सक्ने घुसपैठ नियन्त्रणका लागि शशस्त्र प्रहरीलाई जिम्मेवारी दिईएको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले बताए ।

अनिवार्य रुपमा क्वारेन्टाइन कक्ष र सम्भव भए सम्म आईसुलेसन वार्डको निर्माण गर्न प्रमुख जिल्ला अधिकारी पौडेलले स्थानीय तहका प्रमुखहरुलाई आग्रह गरेका छन् ।


प्रकाशित : २०७६ चैत्र १०, सोमबार १५:३४