काठमाडौं । सरकारले सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई अन्तिम पटक भित्रन दिने निर्णय गरेको छ ।
मंगलबार बसेको कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको १२ औं बैठकले त्यस्ता अलपत्र परेका नेपालीलाई नागकिता वा परिचय खुल्ने अन्य कागजातका आधारमा छिर्न दिइने निर्णय गरेको हो ।
पूर्वसूचना नपाएकाले ती नेपालीहरू स्वदेश फर्कन हतारिएका र नाका बन्द भएपछि अलपत्र परेकाले अन्तिम पटक भित्र्याउने निर्णय भएको समितिका सदस्य तथा सरकारका प्रवक्ता, अर्थ, सञ्चारमन्त्री युवराज खतिवडाले जानकारी दिए ।
नेपाल भित्रिएका नेपाली १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने, बसे नबसेको सम्बन्धित प्रदेश सरकारले अनुगमन गर्ने खतिवडाको भनाइ छ । प्रदेश र स्थानीय सरकारको समन्वयमा ती काम हुने खतिवडाको भनाइ छ ।
त्यस्तै आजको बैठकले लकडाउन सफल बनाउन भूमिका खेल्ने नागरिकप्रति धन्यवाद व्यक्त गरेको छ । लकडाउन (बन्दाबन्दी) प्रभावकारी बनाउने सुरक्षा निकायले खेलेको भूमिकाको पनि समीक्षा भएको खतिवडाको भनाइ छ