लुदअ काठमाडौं, चैत्र २८
कोरोना भाइरसको संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । ।
पछिल्लो तथ्यांक अनुसार विश्वभर भाइरस संक्रमणका कारण १ लाख ३ सय ८० व्यक्तिको मृत्यु भएको हो । यसबाट संक्रमित हुनेको संख्या पनि १६ लाख ५२ हजार ९ सय ४४ रहेको छ ।
सबैभन्दा बढी अमेरिकामा संक्रमित छन् । त्यहाँ संक्रमित हुनेको संख्या ४ लाख ६८ हजार नाघेको छ । त्यहाँ १६ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ ।
१६ लाख २१ हजारभन्दा बढी कोरोनाबाट संक्रमित भएकामा तीन लाख ६६ हजारभन्दा बढी मानिस निको भएर घर फर्किएका छन् भने करिब ४९ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।
मृत्यु हुनेमा अहिलेसम्म सबैभन्दा बढी इटालीमा १८ हजार २ सयभन्दा धेरै छन् भने स्पेनमा १५ हजार ८ सय नाघेको छ । स्पेनमा संक्रमित हुनेको संख्या १ लाख ५७ हजार नाघ्दा इटालीमा संक्रमितको संख्या १ लाख ४३ हजार नाघेको छ ।
फ्रान्समा मृतकको संख्या १२ हजार २ सय नाघेको छ । बेलायतमा करिब ८ हजारको मृत्यु भएको छ । इरानमा मृतकको संख्या ४२ सय नाघ्दा चीनमा यो संख्या ३३ सय ३६ छ । जर्मनीमा मृत्यु हुनेको संख्या २६ सय नाघ्दा बेल्जियममा ३ हजार नाघेको छ भने नेदरल्याण्डस्मा करिब २५ सय नाघेको छ ।
भारतमा २२९ जनाको मृत्यु हुँदा ६ हजार ७ सयभन्दा बढी संक्रमित भएका छन् ।