लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको बजेट खर्चको अवस्था अहिलेसम्म निराशाजनक

[sharethis-inline-buttons]

लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको बजेट खर्चको अवस्था अहिलेसम्म निराशाजनक देखिएको छ । चालु खर्चको तुलनामा पुँजीगत खर्च निकै कम देखिएको हो । लुम्बिनी प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०७७÷०७८ को १० महिनामा पुँजीगत बजेटको खर्चदर जम्मा ४६.१७ प्रतिशत छ । चालुतर्फ भने १७ अर्ब २१ करोड बजेटमध्ये ९ अर्ब १८ करोड अर्थात् ५३.३६ प्रतिशत खर्च भएको छ । चालु आर्थिक वर्षका लागि छुट्याइएको २० अर्ब २४ करोड विकास बजेटमध्ये वैशाख मसान्तसम्म ९ अर्ब ३४ करोड ४६ लाख खर्च भएको छ । प्रदेशको कुल बजेट ३७ अर्ब ४५ करोड २५ लाख हो । वैशाख मसान्त सम्मको १० महिना अवधिमा १८ अर्ब ५२ करोड ९५ लाखमात्र खर्च भएको छ । चालु आर्थिक वर्षका १० महिनामा प्रदेश सरकारले कुल बजेटको ४९.४७ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा कार्यालयका प्रमुख दिपक ज्ञवालीले बताउनुभयो । सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री बैजनाथ चौधरीले कोभिड–१९ ले हरेक क्षेत्रलाई प्रभावित पारेकाले बजेट खर्चमा केही कमी देखिएको बताए । यद्यपि गत वर्षको तुलनामा धेरै नै काम भएको उनको दावी छ । आर्थिक वर्ष सकिने बेलासम्म खर्चको अनुपात बढ्ने सरकार पक्षको दावी छ ।


प्रकाशित : २०७८ जेष्ठ २२, शनिबार ११:३६