
नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन ९ दिन पर सार्ने भएको छ । वडा अधिवेशन भने एक महिना ढिला अर्थात् साउन ६ बाट सुरु गर्ने महामन्त्रीको प्रस्ताव छ । आज बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा सभापति शेरबहादुर देउवाले महाधिवेशन गरिछाड्ने बताउनुभएको थियो । तर पूर्वनिर्धारित मिति असार ७ बाट वडा तहको अधिवेशन सुरु गर्न सक्ने अवस्था नभएको भन्दै महामन्त्रीले कार्यतालिका संशोधन गर्न प्रस्ताव पेश गर्नुभएको छ । सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार क्रियाशील सदस्यता छानविनको म्याद २० असारसम्म थप गर्ने प्रस्ताव आएको छ । यो अवधिमा बाँकी रहेको क्रियाशील सदस्यता वितरण तथा नवीकरणका साथै छानविन सक्ने प्रस्ताव छ । त्यसलाई २४ जेठभित्र केन्द्रीय कार्यसमितिबाट अनुमोदन गर्ने र साउन ६ बाट वडा तहको अधिवेशन गर्ने प्रस्तावमा उल्लेख छ । केन्द्रीय महाधिवेशन भने भदौ १६ देखि १९ गतेसम्म गर्ने महामन्त्रीको प्रस्ताव रहेको सहमहामन्त्री महतले बताउनुभयो । यसअघि महाधिवेशनको मिति भदौ ७ देखि १० गतेसम्म तय भएको थियो ।

