नेपाली काँग्रेसका सभापति शेरहादुर देउवाले सभापतिमा दोहोरिने संकेत गर्नुभएको छ । काँग्रेसले भदौ १६ देखि १९ गते सम्म पार्टीको महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको दोस्रो दिन देउवाले आफूनिकट केन्द्रीय सदस्यलाई बोलाएर छलफल गर्नुभएको हो । सभापति देउवाले आज बिहान प्रदेश १ का केन्द्रीय सदस्यहरुसँग बुढानीलकण्ठमा छलफल गर्दै आफू सभापतिमा दोहोरिने बताउनुभएको हो । संशोधित कार्यतालिकाअनुसार महाधिवेशन हुने, आफु फेरि सभापतिमा लड्ने र पार्टीलाई सबैभन्दा ठूलो बनाउँने सभापति देउवाले बताउनुभएको थियो । देउवाले पार्टीमा धेरै कामगर्न बाँकी रहेकाले फेरि सभापतिमा दोहोरिन चाहेको बताउनुभएको थियो । छलफलमा सहमहामन्त्री सुनिलथापा, केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, सीता गुरुङ, बाबुराम बस्नेत, डा.डीला संग्रौला, सुजाता परियार लगायत सहभागीथिए । सभापति देउवाले महाधिवेशनमा जित्ने गरी काम गर्न केन्द्रीय सदस्यहरुलाई निर्देशन पनि दिनुभयो ।




















