काठमाडौं ,बैशाख ८
नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताका विषयमा निर्णय गर्ने जिम्मेबारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मा दिएको छ। बुधबार बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि पार्टी प्रवक्ता नेता नारायणकाजी श्रेष्ठले सरकारलाई दिएको समर्थन फिर्ताका विषयमा निर्णय गर्ने अधिकार प्रचण्डलाई दिने निर्णय भएको जानकारी दिए।
ओलीलाई हटाएर वैकल्पिक सरकार निर्माणका लागि अगुवाइ गर्दै आएको माओवादीले अहिलेसम्म समर्थन फिर्ताको औपचारिक निर्णय भने गर्न सकेको छैन। समर्थन फिर्ताको निर्णय गर्ने भन्दै मंगलबार बसेको बैठकले प्रतिनिधिसभाको हिउँदे अधिवेशन सरकारले हठात् अन्त्य गराएर निरंकुश र स्वेच्छाचारी कदम चालेको ठहर गर्दै टुंगिएको थियो। नेपाली कांग्रेसले माओवादी निर्णय गरेपछि मात्र वैकल्पिक सरकारको तयारी अघि बढाउन सकिने बताउँदै आएको छ।
बुधबारको बैठकले पार्टी सङ्गठन र भ्रातृ संगठनमा शुद्धीकरणको अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । बैठकले केही दिनभित्र राजनीतिक प्रतिवेदन तयार गरी स्थायी समितिमा प्रस्तुत गर्ने र स्थायी समिति बैठकले त्यसलाई केन्द्रीय समितिको बैठकका निम्ति प्रस्तावका रुपमा लैजाने निर्णय पनि गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए। बैठकले ठकले कोभिड–१९ को प्रकोपबाट सुरक्षित रहन आम जनसमुदायलाई अपिल गर्ने निर्णय गरेको छ । पार्टीको सम्पूर्ण कमिटी र पंक्तिलाई कोभिड–१९ विरुद्धको जनचेतना र जागरणको अभियान सञ्चालन गर्न निर्देशन दिएको छ ।