हरि शर्मा परासी, १५ फागुन
भारतसँग सीमाना जोडिएका पश्चिम नवलपरासीका नाका २ दिनका लागि शिल (बन्द) हुने भएका छन् । भारतको उत्तर प्रदेश राज्यको विधान सभा चुनावका लागि नाका शिल गर्न लागिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । नवलपरासी, रुपन्देही र भारत महाराजगञ्ज जिल्लाका सीडीओसहित सुरक्षा अधिकारीहरुको आइतबारको अनलाइन बैठकले फागुन १७ गते बेलुका ६ बजेदेखि १९ गते बेलुका ६ बजेसम्म नाका शिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए । नाका शिल भएको समयमा मानिसको आवतजावत समेत पूर्ण रुपमा रोकिने छ । चुनावको अघिल्लो दिन ( १८ गते) सम्म भने मतदाताहरु मात्र परिचय पत्रका आधारमा भारत जान पाउने छन् । यो जिल्लामा १९ गते ( ३ मार्च ) चुनाव हुँदै छ । १६ गतेदेखि सीमा नाकामा दुवै देशका सुरक्षाकर्मीहरुले संयुक्त गस्ती गर्ने छन् । बैठकमा नेपाली पक्षले राखेको बैशाख ३० गतेको स्थानीय निर्वाचनलाई सहयोगको आग्रहलाई पनि भारतले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको प्रजिअ मिश्रले बताए ।




















