जेठ ७ । बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसका खेलराज पाण्डे प्रमुखमा र उपप्रमुखमा नेकपा एमालेकी सावित्रादेवी अर्याल विजयी भएकी छन्। नेकपा एमालेकी केन्द्रिय सदस्य समेत रहेकी अर्यालले गठबन्धनबाट उपप्रमुखका उम्मेदवार एकिकृत समाजवादीका चिनबहादुर गुरुङलाई पराजित गर्दै विजयी भएकी हुन्।
उपप्रमुखमा विजयी अर्यालले २४ हजार ९ सय ४ मत ल्याउंदा गुरुङले १६ हजार ९ सय ८० मत ल्याएका छन्।
२०४७ साल देखि नेकपा मालेको सदस्यता प्राप्त गरी निरन्तर पार्टीमा सक्रिय रहंदै आएकी छन्। हाल नेकपा एमाले केन्द्रिय सदस्य रहेकी अर्याल २०४९ सालमा तत्कालिन बुटवल नगरपालिकाको कार्यपालिका सदस्यमा मनोनित र २०५४ सालमा निर्वाचित वडा सदस्य भएर जनप्रतिनिधीको भूमिका निर्वाह गरेकी थिईन्। बुटवलमा महिला समाजसेवीको सशक्त पहिचान बनाउनुभएकी अर्यालले बाल्यकालमा विद्यालय जान नपाएका आमाहरुका लागि महिला विद्यालय स्थापना गरि शिक्षा क्षेत्रमा अभियान चलाईन्। उनको अग्रसरता र अध्यक्षतामा स्थापना भएको साधना महिला विद्यालयमा अहिलेपनि १५ वर्षदेखि ७० वर्ष उमेरसम्मका १ सय भन्दा बढि महिलाहरु अध्ययनरत छन्।
शिक्षाक्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै राष्ट्रपतिबाट शिक्षासेवीको जनसेवा श्री चतुर्थबाट विभुषित समेत भईसकेकी छन्। अर्याल शिक्षासंगै संचारक्षेत्रमा पनि निरन्तर क्रियाशिल छन्। बुटवलमा महिलाहरु मात्रैले स्थापना गरेको रेडियो मुक्तिको पुर्व अध्यक्ष, रेडियो मदनपोखराको संस्थापक सदस्य, लुम्बिनी टेलिभिजनको संस्थापक सदस्य रहेकी अर्याल जिवराज आश्रीत स्मृति प्रतिष्ठान र मदनआश्रीत अक्षयकोषको पनि संस्थापक सदस्य छन्। बाबु नेत्रप्रसाद आचार्य र आमा दिलकुमारी आचार्यको कोखबाट पाल्पाको कुशुमखोलामा जन्मिएकी अर्याल विष्णुप्रसाद अर्यालसंग विवाह भएपछि बुटवलमा बस्दै आएकी छन्।
विभिन्न सामाजिक क्षेत्रका काममा सक्रिय रहँदा बुटवलवाशीसंग नजिक रहेकी अर्यालले पाँचदलिय गठबन्धनबाट नगरप्रमुख र उपप्रमुख दुबै पदमा पुरुष उम्मेदवार भएपछि त्यसको फाईदा लिन सकिन्। यसअघिको निर्वाचनमा पनि नेपाली कांग्रेस र माओवादी केन्द्र दुबै दलबाट नगरप्रमुख र उपप्रमुख दुवै पदमा पुरुष उम्मेदवार बनेपछि एमालेकी गोमादेवी आचार्य झण्डै १० हजार मतअन्तरले निर्वाचित भएकी थिईन्।




















