माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा चुनावको समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची सच्याएर निर्वाचन आयोगमा बुझाएको छ । निर्वाचन आयोगले आइतबारसम्म बन्दसूची सच्याउने समय दिएको थियो । सोही समयभित्र ३ असोजमा बुझाएको सूचीमाथि थपघट गरेर माओवादीले आइतबार बन्दसूची आयोगमा बुझाएको हो ।
माआवादी केन्द्रका महासचिव देव गुरुङले शिलापत्रसँगको कुराकानीमा ३ असोजमा आयोगमा बुझाएको बन्दसूचीमा रहेका केही प्राविधिक त्रुटि सच्याएर अन्तिम नामावली आयोगलाई बुझाएको जानकारी दिए । गुरुङले भने, ‘हामीले बन्दसूचीको नामावली अन्तिम टुंगो लगाएर आयोगमा बुझाएका छौं, केही प्राविधिक त्रुटि पनि सच्याएका छौं ।’
माओवादीले यसपटक उपाध्यक्ष कृष्णबहादुर महरासहितका नेताहरूलाई समानुपातिकमा राखेको छ । त्यसैगरी, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी पनि माओवादीको चुनाव चिह्न हसिया हथौडा नै लिएर चुनावमा जाँदैछ । सोहीकारण उक्त पार्टीका ५ जनालाई माअोवादीले बन्दसूचीमा राखेको छ । बाबुराम भट्टराईको पार्टीबाट नेता गंगानारायण श्रेष्ठ, दुर्गा सोब, भट्टराईकी भाइबुहारी दुर्गा भट्टराई पनि बन्दसूचीमा रहेका छन् ।