
कार्तिक १५ ।
त्रिभुज चिन्ह लिएर रुपन्देही–१ बाट सत्तारूढ गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुधार्ने प्रयास असफल भएपछि आफुले एमाले छोडेको बताउनुभएको छ । मंगलबार देवदहमा गठबन्धनको वडा कार्यालय उद्घाटन गर्दै भुसालले ओलीलाई सुधार्नु भनेको बालुवा पेलेर तेल निकाल्नु सरह भएको टिप्पणी गर्नुभयो ।
ओलीले देशको संविधानमा आगो लगाउन थालेपछि पाँच दलिय गठबन्धन बनेको र गठबन्धनले नै लोकतन्त्र र संविधानको रक्षा गर्ने उहाँको तर्क दावी छ ।
भुसालले देवदह यस क्षेत्रको नेता पालिका भएकोले रूपन्देही–१ को विकासको नेतृत्व देवदहले गर्नुपर्ने बताउनुभयो । रोजगारी र विकास अबको एजेन्डा हुने बताउँदै उहाँले अब देवदहको प्रतिस्पर्धा बुटवल र आसपासका शहरसंग हुने र विकासमा देवदहले नयाँ फड्को मार्ने दावी गर्नुभयो । जनताको प्राथमिकताका आधारमा चौतर्फी विकास गर्न पाँच दलिय गठबन्धनलाई मतदान गर्नुपर्ने भुसालकोे भनाइ छ ।

