लुम्बिनी प्रदेशको सर्वाधिक चर्चितमध्येको एक निर्वाचन क्षेत्र हो, रुपन्देही ३ , जहाँ सत्ता गठबन्धनबाट गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण र एमालेको समेत साथ लिएर राप्रपा नेता दीपक बोहोरा चुनावी मैदानमा छन् ।
ुकाँटेका टक्करु ठानिएको यो प्रतिस्पर्धामा राप्रपा उम्मेदवार बोहोरा भने आवाजविहीन छन् । घरदैलो होस् वा चुनावी सभा, उनी पुग्छन् तर बोल्दैनन् । बाध्यकारी अवस्थामा बोलेको पनि सहयोगीबाहेक अरुले बुझ्दैनन् । चुनावी सभामा उनले लेखेको भाषण अरुले नै पढिदिन्छन् । आवाजविहीन उम्मेदवार बोहोराको चुनावी कमाण्ड सम्हालेका छन्, पूर्वगृहमन्त्री निरञ्जन थापाले ।
दुई महिना भयो, बोहोराले ुभ्वाइस रेस्टु गर्न थालेको । पोस्ट कोभिड समस्याले उनले चर्को बोल्न नहुने भएको हो । उनको चुनाव हाँकिरहेका पूर्वगृहमन्त्री थापाले पूरै चुनावी अभियान हाँकिरहेका छन् । बोहोरानिवास सिद्धार्थनगर भैरहवामा राप्रपा जिल्ला अध्यक्ष प्रतापशमशेर राणा र नातिनी स्वाती थापाले सहजीकरण गरिरहेका छन् ।
बोहोरा सचिवालयका सदस्यहरूसँग सानो स्वरमा कुराकानी गर्छन् । दोभाषेसरह उनीहरूले बोहोराको भनाइ अर्थ्याउँछन् । कुन क्षेत्रमा घरदैलो गर्ने भन्ने उनी आफैँ तालिका मिलाउँछन् । चुनावी माहौल रहेकाले उत्तेजित हुने र चर्को स्वरमा बोल्नुपर्ने कुराहरू गर्न सचिवालयले रोकेको हो ।
बिहान ६ बजे निवासमा भेट्न आएका शुभेच्छुकलाई समय दिने र बिहानैदेखि उनी घरदैलोमा निस्कन्छन् । घरदैलोका साथै पार्टीको आन्तरिक बैठकमा पनि उनी सक्रिय हुन्छन् । राति १२–१ बजेसम्म आन्तरिक रूपमा चुनावी रणनीति बनाउने बैठकमा व्यस्त भए पनि आफ्नो कुरा आफैँ अभिव्यक्त गर्न नपाउँदाको उकुसमुकुस भने उनमा देखिन्छ ।
घरदैलोमा इशाराले कुरा गर्छन् । मतदाताका अपेक्षा र गुनासाहरू सुन्छन् । बोल्नैपरे सानो स्वरमा बोल्छन् । उनले के भने, के भन्न लागेको सचिवालयबाट गएका व्यक्तिले सहजीकरण गरिदिन्छन् । ‘चुनावी माहौल छ, बोल्नैपर्ने अवस्था छ । बाध्यकारी भएपछि केही दिनमा बोल्नुहुन्छ होला,’ राप्रपा सिद्धार्थनगरका कार्यवाहक अध्यक्ष कृष्ण अर्यालले शिलापत्रसँग भने ।
बोहोराले बोल्न नमिल्ने अवस्था भए पनि चुनावी कार्यक्रममा असर नपरेको राप्रपा रुपन्देही जिल्ला अध्यक्ष सागरप्रताप राणाले बताए । चुनावी अभियानमा राप्रपाका नेता कार्यकर्तासँगै एमाले पनि साथै छ । रूपन्देही ३ मा एमाले र जसपासँगको तालमेलमा गृहमन्त्री खाँणलाइ चुनौती दिइरहेका बोहोरा २०७४ मा कांग्रेसको समर्थनमा उम्मेदवार थिए ।




















