रुपन्देही क्षेत्र न पाँच संघीय सांसद घिमिरेको सम्पर्क कार्यालय कञ्चन २ मा स्थापना

[sharethis-inline-buttons]

सूर्यपुरा, मंसिर १८ ।

रुपन्देहीको क्षेत्र नं। ५ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित बासुदेव घिमिरेले कञ्चन गाउँपालिका वडा नं। २ कञ्चनचोकमा सम्पर्क कार्यालय स्थापना गर्नुभएको छ । नागरिकसँगको भेटघाट तथा गुनासा र समस्याको बारेमा जानकारी लिएर त्यसको समाधानमा सहजीकरण गर्न सहयोग पुग्ने उद्देश्यले संघीय सांसद घिमिरेले सम्पर्क कार्यालय स्थापना गर्नुभएको हो । सम्पर्क कार्यालय रामापुर—लुम्बिनी सडकको कञ्चन नदी पुल नजिकैं रहेको छ ।
आइतबार सम्पर्क कार्यालयको शुभारम्भ गर्दै सांसद घिमिरेले सम्पर्क कार्यालय सञ्चालनले नागरिकका समस्या समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । स्थानीय, प्रदेश र संघीय सरकारसँगको सहकार्य र समन्वयबाट विकास निर्माणका काम र नागरिकका समस्या समाधान गरिने बताउँदै उहाँले क्षेत्र नं। ५ को योजनाबद्ध, व्यवस्थित विकासमा राजनीतिक दल, विकास साझेदार संघ—संस्थालगायत सम्पूर्ण नागरिकको यथेष्ट सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

क्षेत्र नं। ५ का बसिन्दाले दिएको विकास, समृद्धि र जनताको सेवा गर्ने जिम्मेवारीलाई सदैव ईमान्दारिताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले लुम्बिनीलाई केन्द्रमा राखेर क्षेत्र नं। ५ को समग्र विकास गरिने स्पष्ट पार्नुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य भूमिश्वर ढकाल, गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेल, उपेन्द्र अधिकारीलगायतले बोल्नु भएको थियो ।

तिलोत्तमा नगरपालिकाका पूर्व नगर प्रमुख समेत रहनुभएका नेकपा एमालेका नेता घिमिरे मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसका नेता भरत शाहलाई ९,७८२ मतान्तरले हराउँदै विजयी हुनुभएको हो । यस पटकको निर्वाचनमा रुपन्देहीको क्षेत्र नं। ५ मा नेकपा एमाले समानुपातिक निर्वाचन प्रणालीमा पनि पहिलो बनेको छ ।


प्रकाशित : २०७९ मंसिर १८, आईतवार १८:१३