काठमाडौं, वैशाख १२ ।
प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले मदरसाहरुमा समेत यथोचित शिक्षक दरबन्दीको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद घिमिरेले धार्मिक विद्यालयका रुपमा संचालित मदरसाहरुको अवस्था निकै दयनिक रहेको उल्लेख गर्नुभयो ।
आफूले प्रतिनिधित्व गर्ने रुपन्देही क्षेत्र नं. ५ मा रहेका ५२ वटा मदरसामा मात्र ९ हजारभन्दा बढी विद्यार्थी अध्ययरत रहे पनि केही मदरसालाई मात्र सरकारबाट वार्षिक २ लाख अनुदान उपलब्ध हुँदै आएको उहाँको भनाइ छ । मदरासामा न्यूनतम भौतिक संरचना नहुँदा बालबालिकाहरुले निकैं कष्ट पाउनु परेको बताउँदै सांसद घिमिरेले मदरसाहरुमा सरकारले तोकेको पाठ्यक्रम समेत लागु गराई सामुदायिक विद्यालय सरह शिक्षक दरबन्दी र भौतिक साधनस्रोत उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो ।
यस्तै सांसद घिमिरेले विद्यार्थी संख्याअनुसार कतिपय सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी र भौतिक साधनस्रोत नहुँदा विद्यालयले अभिभावकसँग सहयोग रकम उठाउन बाध्य हुनु परेकोले सामुदायिक विद्यालयमा यथोचित शिक्षक दरबन्दीको साथै अन्य भौतिक साधन श्रोतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।