तनहुँको आँबुखैरेनीमा ‘एक वडा, एक उत्पादन’अन्तर्गत एभोकाडो खेती सुरु

[sharethis-inline-buttons]
Image XYZ Image XYZ
तनहुँ । तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिकामा ‘नौनी फल’ भनेर चिनिने एभोकाडोको व्यावसायिक खेती सुरु गरिएको छ ।  ‘एक वडा, एक उत्पादन’ कार्यक्रमअन्तर्गत आँबुखैरेनी गाउँपालिका–२ मा एभोकाडोका १ हजार ८ सय ४० बिरुवा लगाइएको हो । कृषकलाई ७५ प्रतिशत अनुदानमा १ हजार ८ सय ४० वटा एभोकाडोको बिरुवा वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मा बताउँछन् । उक्त बिरुवा रोपेको तीन वर्षदेखि उत्पादन दिन सुरु गर्ने र मूल्य पनि राम्रो पाइने भएपछि कृषकलाई यसतर्फ आकर्षित गराइएको हो । फलफूल क्षेत्र विकास कार्यक्रमअन्तर्गत तनहुँमा पनि एभोकाडो खेतीलाई समावेश गरी प्राथमिकतामा राखिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कार्यालयका अनुसार गत वर्षदेखि यसको बिरुवा उत्पादन गरेर खेती सुरुआत गरिएको हो । समुद्री सतहदेखि २ सय सय मिटरदेखि १ हजार ६ सय मिटर उचाइमा यसको खेती गर्न सकिन्छ । उक्त खेतीका लागि  सुहाउँदो हावापानी तनहुँमा छ । गत वर्ष केन्द्र आफैँले २ हजार बिरुवा उत्पादन गर्नाका साथै बाहिरबाट थप २ हजार बिरुवा ल्याएर ४ हजार बिरुवा कृषकहरूलाई वितरण गरिएको केन्द्रका सूचना अधिकारी किरण परियारले बताए । यो खेती तराईदेखि पहाडसम्म गर्न सकिन्छ । कागती तथा केरा हुने क्षेत्रमा यसको खेती राम्रो हुन्छ । बाँझो जमिन सदुपयोग गर्न एभोकाडोको खेती गरिएको गाउँपालिका अध्यक्ष शुक्र चुमान बताउँछन् । स्थानीय वडावासीलाई उत्पादनसँग जोड्न र आयमूलक बनाउन गाउँपालिकाले ‘एक वडा, एक उत्पादन’ कार्यक्रमलाई प्राथमिकता दिँदै आइएको उनको भनाइ छ । एभोकाडोमा प्रशस्त भिटामिन, प्रोटिन र चिल्लो पदार्थ पाइने र उच्च रक्तचाप, मधुमेह, मुटु रोगका बिरामीका लागि अति नै लाभदायक फलको रूपमा लिइन्छ ।  उक्त फल बजारमा थोक प्रतिकिलो २ सय र खुद्रा प्रतिकिलो ३ सय ५० देखि ४ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको व्यापारीहरू बताउँछन् । एभोकाडोको जुस बनाएरसमेत खान गर्न सकिन्छ । ठूला होटल, पर्यटक र शहर बजारका बासिन्दाले प्रायः एभोकाडोलाई मुख्य फलको रूपमा उपभोग गर्न थालेका छन् । कात्तिक महिनामा टिप्न सुरु गरिने एभोकाडोको फल फागुनसम्म बोटमा राख्न सकिन्छ । कलमी र बिजु दुई विधिबाट यसको बिरुवा उत्पादन गर्न सकिने उक्त केन्द्रले जनाएको छ । रासस

प्रकाशित : २०८० कार्तिक १०, शुक्रबार ११:२९