लुदस, कोपवा
कपिलवस्तुको बाणगंगा नगरपालिका–६ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको लक्ष्मणघाटमा यस वर्ष पनि पूर्णिमा मेला तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।
लक्ष्मणघाट बोलबमधाम विकास समितिको आयोजना र लक्ष्मणघाट सामाजिक विकास केन्द्रको सह आयोजनामा मंसिर ७ देखि १० गतेसम्म सञ्चालन हुने मेलालाई यसपाली थप आर्कषक कार्यक्रम सहित धार्मिक आस्था, स्थानीय संस्कृति, मनोरञ्जन र व्यापार प्रवद्र्धनको साझा उत्सवका रूपमा विकास गर्ने तयारी गरिएको छ ।
सयौँ वर्ष पुरानो इतिहास र धार्मिक विश्वाससँग जोडिएको लक्ष्मणघाट पूर्णिमा मेलामा कपिलवस्तुसहित अर्घाखाँची, प्युठान, रुपन्देही तथा छिमेकी मुलुक भारतबाट समेत श्रद्धालु भक्तजन आउने गरेका छन्। बाणगंगा नदीसँग जोडिएको यस क्षेत्रको धार्मिक महत्वका कारण पूर्णिमाको अवसरमा लाग्ने मेलाले स्थानीय मात्र नभई छिमेकी जिल्लाका भक्तजनलाई समेत आकर्षित गर्दै आएको छ ।
विशेषगरी थारु समुदायको मौलिक धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको यो मेला पछिल्लो समय सबै समुदायको साझा पर्वका रूपमा स्थापित हुँदै गएको छ । पूर्णिमाका दिन बाणगंगा नदीमा स्नान गर्ने, गौपूजा गर्ने, दानदक्षिणा दिने, धार्मिक कथा श्रवण गर्ने तथा मुण्डन गर्ने परम्परा रहँदै आएको आयोजक लक्ष्मणघाट बोलबमधाम विकास समितिका अध्यक्ष रणबहादुर काउचाले बताए । उनका अनुसार धार्मिक विधि र परम्पराको निरन्तरताले लक्ष्मणघाटको पहिचानलाई थप बलियो बनाएको छ।
यस वर्षको मेलालाई विगतभन्दा फरक र आकर्षक बनाउने उद्देश्यले सांस्कृतिक कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको छ । मंसिर ७ गते चर्चित राष्ट्रिय लोकदोहोरी गायिका ज्योति मगरको विशेष प्रस्तुतिसहित अन्य राष्ट्रिय तथा स्थानीय कलाकारको सहभागितामा सांगीतिक कन्सर्ट आयोजना गरिने सांस्कृतिक संयोजक वीरेन्द्र रेग्मीले जानकारी दिए। उनका अनुसार मेलाका अन्य दिनमा पनि विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिनेछ।
मेलामा स्थानीय व्यापार, कृषि, खाद्यान्न तथा घरेलु उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न व्यावसायिक स्टल तथा प्रम्परागत स्टल राखिने तयारी गरिएको छ । स्थानीय उत्पादनलाई बजारसँग जोड्दै साना व्यवसायी तथा उद्यमीलाई प्रोत्साहन गर्ने आयोजकको लक्ष्य छ । त्यस्तै बालबालिकादेखि युवासम्मलाई लक्षित गरी पिङ, झुला, मिक्की माउस तथा बाल उद्यानलगायत मनोरञ्जनका सामग्री राखिने सहआयोजक संस्थाका उपाध्यक्ष अन्जित खनालले बताए। धार्मिक तथा परम्परागत गतिविधिसँगै नयाँ आकर्षण थपेर मेलालाई थप व्यवस्थित र मनोरञ्जनात्मक बनाइने उनको भनाइ छ।
चार दिनसम्म सञ्चालन हुने मेलामा करिब ३० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको मेलाका संयोजक तेजबहादुर थापाले बताए । मेलालाई शान्तिपूर्ण, व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न संघसंस्था तथा सम्बन्धित निकायसँग समन्वय भैरहेको संरक्षक संस्था बाणगंगा नगरपालिका–६ का वडाध्यक्ष करण टण्डनले बताए । लक्ष्मणघाटको धार्मिक पहिचान, ऐतिहासिक विरासत र स्थानीय संस्कृतिलाई संरक्षण गर्दै पर्यटन तथा आर्थिक गतिविधिसँग जोड्ने अवसरका रूपमा यस वर्षको मेलालाई हेरिएको छ। बाणगंगा नदीको धार्मिक महिमा र पुस्तौँदेखि चल्दै आएको परम्परालाई नयाँ पुस्तासम्म पुर्याउँदै मेलालाई व्यवस्थित र आकर्षक बनाउन सके लक्ष्मणघाट क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।




















