जनयुद्धलाई दबाउन खोजे चिहानबाट फेरि उठ्छः प्रधानमन्त्री

[sharethis-inline-buttons]

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धलाई बदाउन खोजपछि चिहानबाट पटक–पटक उठ्ने बताएका छन्। बिहीवार पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनद्वारा लिखित पुस्तक ‘यात्रा जिन्दगी’को लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

उनले पृथ्वीजयन्तीमा बिदा दिँदा केही नभन्ने र जनयुद्ध दिवसमा बिदा दिँदा टीका टिप्पणी हुने गरेको भन्दै जनयुद्धालाई दबाउन कसैले नसक्ने बताए। ‘मैले योपटक प्रधानमन्त्री भएपछि पृथ्वीजयन्तीमा बिदा दिने निर्णय गराएँ। अरू प्रधानमन्त्रीले सकेका थिएनन्। मैले आँट गरे। मैले अर्को पनि गरेँ जनयुद्ध दिवस भनेर त्यसको चाहिँ अहिले निकै ठूलो टीका टिप्पणी हुने गरेको छ,’ प्रचण्ड भने, ‘पृथ्वीनारायण शाहको कामपछिको ठूलो कर्म नेपाली जनताले अगाडि ल्याएको त्यहीँ नै हो। त्यसलाई अहिले जति दबाउन खोजे पनि इतिहासमा पटक–पटक त्यो उठिराख्छ। त्यो चिहानबाट फेरि उठ्छ।’

उनले जनयुद्ध पृथ्वीनारायण शाहको राज्य एकीकरणपछि दोस्रो ठूलो जनताको तहबाट भएको विद्रोह भएको उल्लेख गरे। जनयुद्धको आधिकारिक र प्रमाणिक व्याख्या हुन अझै बाँकी रहेको भन्दै उनले समय क्रममा यसको आधिकारिक र प्रमाणिक व्याख्या हुने विश्वास व्यक्त गरे।

फागुन १ गते जनयुद्ध दिवसका दिन सार्वजनिक विदा दिएपछि एमाले र काँग्रेसको संस्थापनइतर समूहले यसको विरोध गरेको छ। त्यही विरोधलाई लक्षित गर्दै प्रचण्डले जनयुद्ध दिवस र पृथ्वीजयन्तीको तुलना गर्दै अभिव्यक्ति दिएका हुन्।


प्रकाशित : २०८० कार्तिक २५, शनिबार ०७:४५