सत्यवती मेला शुरु हुदै, चिच्याउँदै वर माग्न तछाड मछाड

[sharethis-inline-buttons]

तानसेन,५ मङ्सिर ।

पाल्पाको सत्यवतीमा चिच्याएर वर माग्ने मेला मङ्सिर ७ गतेदेखि लाग्ने भएको छ । मेला मङ्सिर ११ गतेसम्म सञ्चालन हुने छ । तिनाउ गाउँपालिका–४, सत्यवतीमा हरेक वर्ष चिच्याएर वर माग्ने मेला लाग्ने गर्दछ । यो वर्ष मेला पाँच दिनसम्म सञ्चालन हुने समितिका अध्यक्ष दानबहादुर गाहाले जानकारी दिनुभयो । परम्परादेखि नै यहाँ चिच्याएर वर माग्ने अनौठो मेला लाग्दै आएको छ । परापूर्वकालमा सत्यवती बज्यै घनाजङ्गलको बिचमा आई तपस्या गरेपछि शक्ति प्राप्त गरेको किंवदन्तीमा उल्लेख छ ।

सत्यवती बज्यै कानले नसुन्ने बहिरी भएकाले भक्तजनले सत्यवती ताल नजिकै पुगेर चिच्याएर मनमा चिताएको वर मागेमा बज्यैले पूरा गरिदिने जनविश्वास रहेको छ । वडाध्यक्ष तुलबहादुर आलेका अनुसार यही विश्वासका कारण हरेक वर्ष तिहार पछिको पूर्णिमाको मेलामा हजारौँ भक्तजन वर माग्न सहभागी हुने गरेका छन् । पछिल्लो समय भक्तजनबाटै प्रभावकारी प्रचारप्रसार भएका कारण भक्तजन थपिने क्रम बढेको बताइन्छ । वर माग्ने भक्तजनले बाँस, निगालो, साल आदि जातका लिङ्गो लिएर रातिको समयमा तालमा गाड्ने र आफूले गाडेको लिङ्गो भोलिपल्ट चिनेर त्यही पूजा गरेपछि घरमा फर्कने परम्परा रहेको छ


प्रकाशित : २०८० मंसिर ७, बिहीबार १६:०५