एसीसी यू(१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो ।
जितको लागि १ सय १४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर परिमार्जन यादव १३ रनमा र शिवांश बजागाई २० रनमा आउट भए। लगत्तै रौनक श्रीवास्तव रन नजोडी आउट भए। तीन विकेटको नोक्सानीमा नेपालले ४० रन जोड्यो।
चौथो विकेटको रूपमा प्रसिद्ध जैशी १७ रनमा र सुगम बुढाथोकी १ रनमा आउट भए। कुनै पनि समय नेपालले साझेदारी बनाउन सकेन्। शुभम खनाल १९ रनमा, सचिन भट्ट १ रनमा र विपिन प्रसाद शर्मा शुन्य रनमा आउट हुँदा नेपाल दबाबमा आयो। ९२ रन जोड्दा ८ विकेट गुमाएको थियो। तर यसपछि जोय थापा अविजित २४ र अभय यादव अविजित १० रनमा रहँदै नेपाललाई २ विकेटको जित दिलाउन सफल रहे।
त्यसअघि टस जितेर पहिले ब्याटिङको निर्णय गरेको सिंगापुर ४०।५ ओभरमा ११३ रनमा अलआउट भएको थियो । सिंगापुरका लागि रोहन अस्टिनले सर्वाधिक २३ रन बनाए । उनले ९० भन्दा धेरै बल खेलेका थिए । रिहान नाइकले १५ रन बनाए । नेपालका लागि अभय यादवले १० ओभरमा ३४ रन दिएर ३ विकेट लिए । त्यस्तै सुशिल बहादुर रावलले पनि ३ विकेट लिए । शुभम खनालले २ तथा कप्तान बिपिन प्रसाद शर्माले १ विकेट लिए ।
नेपाल यस प्रतियोगितामा अपराजित रहेर उपाधि जितेको हो । सिंगापुर समूह चरणमा पनि नेपालसँग पराजित भएको थियो ।





















