हरि आचार्य, कपिलवस्तु
अर्घाखाँचीको शितगंगा नगरपालिकामा चौथो शितगंगा कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक महोत्सव २०८२ आयोजना हुने भएको छ । शितगंगा उद्योग वाणिज्य संघको आयोजना तथा नमस्ते अर्घाखाँची समाजको सहआयोजनामा हुने महोत्सवको तयारी तिब्र पारिएको छ । पौष ९ गते देखि २१ गते सम्म संचालन हुने उक्त महोत्सवमा उक्त महोत्सवमा १ सय स्टल रहने छन् ।
यस अवधिमा स्थानीय संस्कृतिको संरक्षणका लागि विभिन्न सांस्कृतिक, कार्यक्रम, सामुदायिक एकता प्रवद्र्धन र पर्यटन विकासका लागि यस महोत्सवले भुमिका खेल्ने शितगंगा उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण पन्थीले बताउनुभएको छ ।
महोत्सवको बारेमा जानकारी दिंदै महोत्सवका निर्देशक सुशिल के.सी.ले मेलालाई पूर्ण सफल बनाउन सबै पक्षसँग गरिएको छलफलबाट प्राप्त सुझावलाई समेटेर अघि बढेको बताउनुभयो । यस क्षेत्रमा अहिले सम्म लागेका मेलाहरु भन्दा पृथक बनाउने दाबी समेत गर्नुभयो ।
महोत्सवबाट स्थानीय उद्योगी, व्यापारी, किसान, उद्यमी तथा सर्वसाधारणबीच आपसी सहकार्य र सम्बन्ध सुदृढ हुने विश्वास राखिएको महोत्सवको सह आयोजक नमस्ते अर्घाखाँची समाजका अध्यक्ष हेमन्त कुमार बेल्बासेले बताउनुभयो ।
यो स्थानमा पहिलो पटक महोत्सव लाग्ने भए पछि स्थानीय बासिन्दा उत्साहित भएका छन् ।
महोत्सवमा स्थानीय उत्पादन, हस्तकला, कृषि सामग्री, प्रविधि, घरेलु उद्योग, मनोरञ्जन तथा संस्कृतिको प्रदर्शनी गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ ।
यता महोत्सवको आकर्षणको रुपमा ठाडा डमरु दहमा मोटरबोट (स्टिमर) संचालन हुने पनि बताईएको छ । जसबाट पर्यटकीय स्थल डमरुदहको प्रचार प्रसार तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।






















