लुदस,जीतपुर
सामाजिक सञ्जालको दुरुपयोग गरी विद्युतीय अपराध गरेको अभियोगमा शुद्धोधन गाउँपालिका–३, गुलरी निवासी ३३ वर्षीय सुरेश कहार (गौड) पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार अभियुक्त कहारलाई बिहीबार भैरहवाबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार उनले ए.आई. (कृत्रिम बौद्धिकता) प्रविधिको प्रयोग गरी शुद्धोधन गाउँपालिका उपाध्यक्ष होमप्रकाश चौधरी ‘लाला’ लगायत अन्य युवाहरूसमेतलाई जोडेर अश्लील तथा आपत्तिजनक तस्बिर तयार पारी सामाजिक सञ्जालमार्फत दुरुपयोग गरेको आरोप लागेको छ।
उपाध्यक्ष चौधरीसहित अन्य पीडित व्यक्तिहरूले दिएको उजुरीका आधारमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिनुभयो। प्रारम्भिक अनुसन्धानबाट विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुर देखिएको प्रहरीले जनाएको छ।
आज जिल्ला अदालत कपिलवस्तुले अभियुक्तलाई अनुसन्धानका लागि म्याद थप गरी प्रहरीलाई आवश्यक अनुसन्धान अगाडि बढाउन अनुमति दिएको छ। घटनाबारे थप प्रमाण संकलन तथा डिजिटल उपकरणहरूको परीक्षण भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका सुरेश कहार शुद्धोधन गाउँपालिकाका पूर्व कर्मचारीसमेत रहेको खुल्न आएको छ। प्रहरीले विद्युतीय तथा साइबर अपराधका घटनाप्रति सजग रहन र सामाजिक सञ्जालको प्रयोग गर्दा कानुनी सीमाभित्र रहेर जिम्मेवार व्यवहार गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।


















