लुदस —
कपिलवस्तु क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मोहनलाल आचार्यलाई युवा समूहले खुलेर समर्थन गर्ने जनाएका छन्।
जेनजी समुहका उम्मेदवार रविन कार्की सहितका युवाहरूले आफ्नो उम्मेदवारी निस्क्रिय पार्दै रास्वपा उम्मेदवार आचार्यको समर्थनमा उभिने निर्णय गरेका हुन्। परिवर्तन, पारदर्शिता र नयाँ राजनीतिक संस्कृतिको पक्षमा उभिनुपर्ने आवश्यकता महसुस गर्दै यस्तो निर्णय लिएको उनीहरूको भनाइ छ।
जेनजी समुहका उम्मेदवार रविन कार्कीले आफू व्यक्तिगत पद वा दलभन्दा माथि उठेर देश र समाजको दीर्घकालीन हितका लागि रास्वपाका उम्मेदवारलाई समर्थन गर्ने निर्णयमा पुगेको बताए।
“आजको आवश्यकता भनेको पुरानो सोच र अभ्यासलाई तोडेर नयाँ, सक्षम र जवाफदेही नेतृत्वलाई अगाडि बढाउनु हो,” कार्कीले भने, “त्यसका लागि मोहनलाल आचार्य उपयुक्त उम्मेदवार हुनुहुन्छ भन्ने विश्वासका साथ हामी उहाँको अभियानमा सक्रिय भएका हौं।”
जेन–जी युवाहरूले परम्परागत राजनीतिप्रति असन्तुष्टि जनाउँदै वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाले आफ्ना आवाज सुन्ने र प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गरेका छन्। उनीहरूका अनुसार शिक्षा, रोजगारी, सुशासन र प्रविधिमैत्री नीति रास्वपाको मुख्य आकर्षण बनेको छ।
रास्वपा उम्मेदवार मोहनलाल आचार्यले युवाहरूको समर्थनलाई सकारात्मक संकेतका रूपमा लिँदै धन्यवाद व्यक्त गरे।
युवाहरूको सक्रिय समर्थनसँगै कपिलवस्तु क्षेत्र नं. १ को चुनावी माहोल थप रोचक बन्दै गएको छ। विशेषगरी जेन–जी पुस्ताको राजनीतिक चेतना र सहभागिताले आगामी निर्वाचन परिणाममा महत्वपूर्ण प्रभाव पार्ने अनुमान गरिएको छ ।व्यक्तिगत स्वार्थभन्दा माथि उठेर रविन कार्कीले ऐतिहासिक निर्णय लिएको भन्दै रास्वपाले धन्यबाद व्यक्त गरेको छ ।




















