काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादित बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने अन्तिम तयारी गरेको छ । आयोगले आगामी माघ ३ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी गरिएको जनाएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनका सन्दर्भमा हालसम्म भएको तयारी, निर्वाचन सामग्रीको छपाई, जनशक्ति व्यवस्थापनलगायतका बारेमा प्रधानमन्त्रीलाई शुक्रबार जानकारी गराएका थिए । आचारसंहितालाई कडाइका साथ पालना गराउन सरकार, सरोकारवाला निकायको प्रमुख भूमिका रहनुपर्ने आयोगको बुझाइ छ ।





















