विष्णु भट्राई
: कपिलवस्तु–१ मा बढ्दो जनसमर्थन कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाका उम्मेदवार माधव भाटछेत्रीको जित सुनिश्चित बन्दै गएको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ। लामो राजनीतिक पृष्ठभूमि, निरन्तर आन्दोलन र सङ्घर्षको अनुभव तथा पछिल्लो समय देखिएको सशक्त प्रचारशैलीका कारण भाटछेत्री चुनावी मैदानमा बलियो दाबेदारका रूपमा उभिनुभएको छ।
बाल्यकालदेखि नै संगठनात्मक जीवनमा सक्रिय भाटछेत्रीले १२ वर्षको उमेरमा बालसङ्घबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको थियो। १४ वर्षकै उमेरमा अखिल छैटौँको एकता समितिको सचिवको जिम्मेवारी सम्हाल्दै उहाँले संगठनात्मक नेतृत्वको अनुभव हासिल गर्नुभएको थियो। त्यसयता विभिन्न कालखण्डमा पार्टीले सञ्चालन गरेका आन्दोलन, जनसंघर्ष र परिवर्तनका अभियानहरूमा अग्रपङ्क्तिमा रहेर भूमिका निर्वाह गर्दै आउनुभएको छ। राष्ट्रिय जनमोर्चा निकट पत्रकार संगठनको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य, रक्तिम सांस्कृतिक अभियानको जिल्ला अध्यक्ष, केन्द्रीय पार्षद, युवा संघ तथा जनमोर्चाका विभिन्न तहमा रहेर उहाँले निरन्तर जनअधिकारका पक्षमा आवाज उठाउँदै आउनुभएको छ। अन्याय, अत्याचार, शोषण र दमनविरुद्धको संघर्षमा उहाँको सक्रियता निरन्तर रहँदै आएको सहकर्मीहरू बताउँछन्। राजनीतिसँगै सफल युवा व्यवसायीको परिचय बनाइसक्नुभएका भाटछेत्रीले उद्यमशीलता र अनुशासनलाई आफ्नो मुख्य विशेषता बनाउँदै आउनुभएको छ। स्थानीयस्तरमा रोजगारी सिर्जना र आर्थिक गतिविधिमा योगदान पुर्याएको पृष्ठभूमिले पनि उहाँप्रति मतदाताको विश्वास बढेको देखिन्छ।

पछिल्लो समय कपिलवस्तुमा सञ्चालन भइरहेको चुनावी प्रचार–प्रसारमा उहाँको शैली चर्चाको विषय बनेको छ। सुव्यवस्थित, अनुशासित र ऊर्जाशील अभियानका कारण उहाँ सामाजिक सञ्जालमा समेत भाइरल बन्नुभएको छ। उहाँको प्रचार अभियान देखेर विपक्षी दलहरू समेत आश्चर्यचकित बनेको स्थानीयहरू बताउँछन्। रोचक पक्ष के छ भने विभिन्न राजनीतिक आस्थामा आबद्ध मतदाताहरूबीच समेत “यसपटक माधव भाटछेत्रीलाई जिताउनुपर्छ” भन्ने चर्चा बढ्दो ।नयाँ भन्ने दलहरुले पनी पुरानै शैली अपनाएपछी फरक चुनावी शैली र राष्टियताको पक्षमा स्पष्टता का कारण जनताको नजरमा उहाँ अगाडी देखिनुभएको हो ।
क्षेत्रको विकास, स्थायित्व र स्पष्ट वैचारिक धारका लागि उहाँ उपयुक्त उम्मेदवार भएको धारणा विस्तार हुँदै गएको देखिन्छ। लामो संघर्षशील राजनीतिक इतिहास, संगठनात्मक क्षमता, उद्यमशील सोच र अनुशासित नेतृत्व शैलीका आधारमा भाटछेत्रीको जित सुनिश्चिततर्फ अघि बढिरहेको समर्थकहरूको दाबी छ। राष्ट्रको हित, देशलाई सही दिशामा अघि बढाउने संकल्प र आफ्ना राजनीतिक एजेण्डालाई स्पष्ट रूपमा प्रस्तुत गर्ने क्षमताले उहाँलाई अन्य उम्मेदवारभन्दा फरक बनाएको उनीहरूको भनाइ छ। अब निर्णय मतदाताको हातमा छ। तर वर्तमान माहोल, बढ्दो जनसमर्थन र व्यापक सकारात्मक प्रतिक्रियाका आधारमा कपिलवस्तु–१ मा माधव भाटछेत्रीको जित सुनिश्चित बन्दै गएको आँकलन गरिएको छ।


















