लुदस, बाणगंगा । कपिलवस्तुको बाणगंगा नगरपालिका–२ लखनपारामा धनकौलीको पूर्वतर्फ ७ औँ बाणगंगा नगरस्तरीय माघी खिचडी महोत्सव आयोजना हुने भएको छ। थारु कल्याणकारिणी सभा बाणगंगा नगर कार्यसमितीको आयोजनामा हुने उक्त महोत्सव माघ २ गतेदेखि ४ गतेसम्म सञ्चालन हुनेछ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सवको तयारी तथा कार्यक्रमबारे जानकारी गराइएको हो। पत्रकार सम्मेलनमा बोल्दै थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य उमाशंकर चौधरीले माघी पर्व विभिन्न समुदायबीच घुलमिल हुने साझा पर्व भएकाले यसले नेपाली समाजमा एकताको सन्देश दिने बताउनुभयो।
उहाँका अनुसार थारु समुदायले माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाउँदै आएको छ। यस वर्ष थारु संवत् २६४८ लाई विदाइ गर्दै २६४९ लाई भव्य रूपमा स्वागत गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो। माघी महोत्सव थारु समुदायको मौलिक पहिचान झल्काउने महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै, हराउँदै गएका थारु संस्कार, संस्कृति र परम्पराको संरक्षणमा महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले माघी महोत्सवले सामाजिक सद्भाव, सांस्कृतिक संरक्षण तथा पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। यस्ता सांस्कृतिक महोत्सवहरूले समुदायबीच एकता बढाउनुका साथै स्थानीय पर्यटन विकासमा समेत सहयोग पुग्ने उहाँको भनाइ थियो।
थारु कल्याणकारिणी सभा बाणगंगाका कार्यवाहक अध्यक्ष ऋषिराम थारुले थारु संस्कृति, परम्परा र पहिचानको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको जानकारी दिनुभयो। उहाँका अनुसार महोत्सवको उद्घाटन थारु कल्याणकारिणी सभाका केन्द्रीय उपाध्यक्ष विश्राम प्रसाद थारुले गर्नुहुनेछ।
महोत्सवको पहिलो दिन माघ २ गते बिहान रक्तदान कार्यक्रम आयोजना गरिनेछ। साथै शैक्षिक सत्र २०८१र८२ मा एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा नेपाल सरकारबाट अवकाश प्राप्त कर्मचारीलाई सम्मान गरिनेछ।
महोत्सवमा थारु सांस्कृतिक झाँकी ¥याली, विविध सांस्कृतिक प्रस्तुति, थारु खानपानको प्रदर्शनी तथा बिक्री, थारु सीप तथा हस्तकलाको प्रदर्शन लगायत कार्यक्रमहरू समावेश गरिनेछन्। यसैगरी झुमरा, झर्रा, लाठी नाच, मयूर नाच, सजनी–विरहनी गीत तथा रेकर्ड डान्स जस्ता थारु संस्कृतिलाई झल्काउने आकर्षक नृत्य तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिने आयोजकले जनाएको छ।
कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य सरिता थारुले गर्नुभएको थियो।





















