सरिता थारु, कपिलबस्तु ।
बाणगंगा नगरपालिका वडा नं। ६ स्थित धार्मिक तथा ऐतिहासिक स्थल लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा आज बिहानैदेखि स्नान तथा दर्शन गर्ने भक्तजनहरूको उल्लेख्य भीड लागेको थियो।
श्री लक्ष्मणघाट बोलबम धाम विकास समितिको आयोजनामा माघ १ गते माघी स्नान तथा माघी महोत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको हो। माघे सक्रान्तिको पावन अवसरमा देशका विभिन्न स्थानबाट आएका भक्तजनहरूले लक्ष्मणघाटमा स्नान गरी दर्शन गरेका थिए।
आगन्तुक भक्तजनहरूको स्वास्थ्य र सुविधालाई ध्यानमा राख्दै धाम परिसरमा माघी स्नानको उचित व्यवस्थासँगै आगो ताप्ने व्यवस्था, निःशुल्क चिया–कफी वितरण, माघ महिनाको विशेष खिचडी प्रसाद वितरण, तथा दिनभर भजन–कीर्तन कार्यक्रम सञ्चालन गरिएको थियो।
कार्यक्रम सफल बनाउन विभिन्न दाताहरूको उल्लेखनीय सहयोग रहेको थियो। ग्लोबल डेरी प्रा।लि। इमिलियाबाट १०० लिटर दूध,कोइलिबनगाईका धिरु खनाल र हेमराज खनाल बाट चिनी, कफी र चियापत्ती, तथा बिहानी उद्यमी महिला सहकारी कोपवाबाट ३ केजी घिउ सहयोग प्राप्त भएको थियो। साथै अन्य दाताहरूबाट नगद सहयोग समेत प्रदान गरिएको विकास समितिले जनाएको छ।
धाम विकास समितिका अध्यक्ष रणबहादुर काउचाले माघे सक्रान्तिको अवसरमा विगतदेखि नै भक्तजनहरूको सुविधालाई मध्यनजर गर्दै खिचडी प्रसाद वितरण तथा निःशुल्क चिया–कफीको व्यवस्था गर्दै आइएको बताउनुभयो। उहाँले सबै सहयोगी दाता, स्वयंसेवक तथा भक्तजनप्रति धन्यवाद व्यक्त गर्नुभयो।
धार्मिक आस्था, सामाजिक सहकार्य र सांस्कृतिक संरक्षणको उदाहरणका रूपमा लक्ष्मणघाट बोलबम धाममा सम्पन्न माघी स्नान स्थानीयवासी सहित सम्पूर्ण भक्तजनमा उत्साह र श्रद्धा थपेको छ।
























