नेपाली कम्युनिष्ट पार्टी, लुम्बिनी प्रदेश समितिले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने गतिविधि गरेको आरोपमा दुई जनालाई पार्टीबाट निष्काशन गरेको जनाएको छ ।
प्रदेश समितिले मिति २०८२ माघ २६ गते जारी गरेको विज्ञप्तिअनुसार आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारहरूलाई असहयोग हुने गरी अनुशासनहीन कार्य गरेको पाइएकाले सम्बन्धित व्यक्तिहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको हो।
निष्काशनमा पर्नेमा कपिलवस्तुका चिन्ता बहादुर परियार र सकिना मुसलमान (रबिना) रहेका छन् ।
प्रदेश समिति अध्यक्ष चक्रपाणी खनाल (बलदेव) द्वारा हस्ताक्षरित विज्ञप्तिमा पार्टीको आधिकारिक निर्णय र उम्मेदवारविरुद्ध गतिविधि गर्ने जो-कोहीलाई कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।
पार्टीले अनुशासन र संगठनात्मक एकतालाई मजबुत बनाउँदै निर्वाचनमा आधिकारिक उम्मेदवारको पक्षमा सक्रिय रूपमा लाग्न सबै कार्यकर्ता तथा समर्थकलाई आह्वान गरेको छ ।



















