जेठ १३, काठमाण्डौ
काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले अप्रजातान्त्रिक र असंवैधानिक हस्तक्षेप गरेर राजनीतिक सङ्कट निम्त्याएको बताउनुभएको छ ।नेपाल प्रेस युनियनको ३१ औँ स्थापना दिवसको अवसरमा ’जुम’मार्फत् आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले राष्ट्रपति र प्रधानमन्त्रीले अप्रजातान्त्रिक र असंवैधानिक हस्तक्षेप गरेर राजनीतिक सङ्कट निम्त्याएको आराृोप लगाउनुभयो । राष्ट्रपति र प्रधानमन्त्रीको कदमले प्रजातन्त्रमा पनि खतरा आइपुगेको उहाँको आरोप छ ।आफूले प्रधानमन्त्रीका लागि बहुमतभन्दा बढी सदस्यको हस्ताक्षर गरेर बुझाएको भए पनि राष्ट्रपतिले प्रमाणित गर्ने प्रयाससमेत नगरिकन प्रतिनिधि सभा विघटन गरेको उहाँले उल्लेख गर्नुभयो । राष्ट्रपतिले प्रधानमन्त्रीले भन्नेबित्तिकै मान्न नहुने भन्दै सभापति देउवाले राष्ट्रपतिले पनि संविधानको ठाडो उल्लङ्घन गरेको जिकिर गर्नुभयो । प्रधानमन्त्री र राष्ट्रपतिका कदमविरुद्ध सर्वोच्च अदालत गएकाले अदालतले न्याय गर्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।कोभिड १९ को सङ्क्रमणले भयानक अवस्था सिर्जना गरेको भन्दै देउवाले सडक आन्दोलनमा जान नहुने बताउनुभयो । मिडियालाई आवाज उठाउन र प्रतिनिधि सभा विघटनको विरुद्धमा जनमत सिर्जना गर्न पनि उहाँले आग्रह गर्नुभयो । संविधानलाई खतम पार्ने षड्यन्त्र भइरहेको भन्दै उहाँले त्यस्तो षड्यन्त्रलाई अदालतले परास्त गर्नेमा विश्वास व्यक्त गर्नुभयो । सभापति देउवाले आफूले पार्टीको अधिवेशन गराएन भन्ने कलङ्क आफ्नो टाउकोमा राख्न नचाहने पनि बताउनुभयो । पार्टीको आउँदो अधिवेशन सम्पन्न गर्नका लागि आफू तयार रहेको उहाँले स्पष्ट पार्नुभयो । यस्तै कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र देश बचाउनुपर्ने सवाल अहिलेको प्रमुख सवाल रहेको भन्दै देश बनाउने मुख्य शक्ति नेपाली कांग्रेस भएको बताउनुभयो । नेपाली कांग्रेस सक्षम र एकताबद्ध हुन नसके लोकतन्त्र र देशको रक्षा गर्न नसकिने पनि उहाँले बताउनुभयो ।




















