बुटवल, बैसाख ११।
नेकपा एमालेले आगामी स्थानीय तहको निर्वाचनका लागि रुपन्देहीका सबै पालिकाहरुको उम्मेदवारको टुंगो लगाएको छ। पार्टीको सचिवालय बैठकले बुटवल उपमहानगरपालिकाको प्रमुखमा बावुराम भटराई र उप प्रमुखमा सावित्रा अर्यालको नाम निर्णय गर्दा एमाले प्रदेश कमिटीले तिलोत्तमा नगरपालिकाको नगरप्रमुखमा मोहन चापागाई र उप प्रमुखमा जगेश्वरी देवी चौधरीलाई उठाउने निर्णय गरेको छ।
त्यसैगरी सैनामैना नगरपालिकाबाट नगरप्रमुखमा हालका नगरप्रमुख चित्र बहादुर कार्की र उप प्रमुखमा बिना रानालाई नै दोहोर्याउने निर्णय भएको एमाले प्रदेश कमिटी श्रोतले जनाएको छ। त्यसैगरी देवदह नगरपालिका प्रमुखमा धु्रव खरेल र उप प्रमुखमा बिद्यालक्ष्मी गुरुङलाई उठाउने एमालेको निर्णय छ । खरेल एमाले प्रदेश कमिटी सदस्य हुन भने गुरुङ जिल्ला कमिटी सदस्य तथा नगरपालिका उपप्रमुख हुन। देवदहमा यस अघि नगर प्रमुख नेपाली कांग्रेसले जितेको थियो।
सिद्धार्थनगर नगरपालिकामा एमालेबाट नगरप्रमुखमा आकांक्षी बनेका ८ जनालाई पछि पार्दै डा। रामप्रसाद बस्याल नगरप्रमुख बन्ने भएका छन्। यसका साथै उप प्रमुखमा उमा अधिकारीलाई उठाउने निर्णय गरिएको छ।
लुम्बिनी सांस्कृतिक नगरपालिकामा केही दिन अघिमात्रै नेपाली कांग्रेस त्यागेर एमाले प्रवेश गरेकी रमावती यादवलाई नगरप्रमुखमा र कल्पना हरीजनलाई उपप्रमुखमा उठाउने एमालेको निर्णय छ।




















