२ साउन –
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको एक वडाध्यक्षलाई धकेलेर पौडी पोखरीमा चोबल्ने प्रहरी अधिकारीलाई नेकपा एमालेले कारबाही गर्न माग गरेको छ ।
आइतबार नगरसभा स्थगित गरेको विरोधमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध प्रदर्शन गरेका थिए । त्यस क्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले वडा नंं ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई धकेल्दै मणिग्राम पार्टी प्यालेसको पौडी पोखरीमा चोबलेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
त्यस क्रममा रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले पनि जनप्रतिनिधिलाई धकेलेका थिए ।
उक्त घटनाको भर्त्सना गर्दै नेकपा एमाले रुपन्देहीले डीएसपी केसी र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई कारवाही गर्न प्रमुख जिल्ला अधिकारीसमक्ष माग गरेको छ । सोमबार ज्ञापन पत्र लिएर जिल्लास्तरीय नेता र तिलोत्तमा नगरपालिकामा एमालेबाट निर्वाचित जनप्रतिनिधि जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले नेपाली कांग्रेसबाट निर्वाचित नगर प्रमुख रामकृष्ण खांणसंग मिलेर गणपूरक संख्या पुग्न नदिन कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको हस्ताक्षर गराउने र एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई हस्ताक्षर गर्न नदिएको एमालेको आरोप छ ।
नेकपा एमालेका जनप्रतिनिधिहरुले प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई पार्टी प्यालेसको एउटा हलबाट अर्को हलमा जान अवरोध गर्ने क्रममा डीएसपी केसीले वडाध्यक्ष क्षेत्रीलाई धकेलेर पोखरीमा हुत्याएका थिए ।




















