चितवनमा स्क्रब टाइफसबाट एक ३६ वर्षीया महिलाको मृत्यु भएको छ।भरतपुर अस्पतालमा भदौ ४ गते भर्ना भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको हो।
चितवनमा ७३ जनामा स्क्रब टाइफस देखिएको छ र १५३० जनाको परीक्षण गरिएको छ।
७ भदौ, चितवन । चितवनमा स्क्रब टाइफसबाट शनिबार एक महिलाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचारका क्रममा बर्दघाट नगरपालिका–१३ की ३६ वर्षीया महिलाको मृत्यु भएको हो ।अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार यही भदौ ४ गते उनी अस्पतालमा भर्ना भएकी थिइन् । उनी छारे रोगबाट पनि पीडित थिइन् ।यसैबीच, यहाँस्थित जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ७३ जनामा स्क्रब टाइफस देखिएको छ ।चितवनका ५८ जना यो रोगबाट पीडित छन् । एक हजार ५३० जनाको परीक्षण गरिएकामा ७३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।



















