काठमाडौं । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि (सोमबार) औपचारिक रूपमा उद्घाटन गरिने भएको छ ।
लामो समयदेखि निर्माणाधीन रहेको यो राष्ट्रिय गौरवको पूर्वाधार आयोजना सम्पन्न भएसँगै काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वार नागढुङ्गामा वर्षौंदेखि हुँदै आएको सवारी जाम र यात्रुको सास्ती अन्त्य हुने अपेक्षा गरिएको छ ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहुलियतपूर्ण ऋण तथा नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भएको यसको कुल लागत करिब १९ अर्ब रुपैयाँ रहेको छ ।
यो सुरुङमार्गको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते गरेका थिए । सडक विभागका अनुसार सुरुङ २.६८ किलोमिटर लामो रहेको छ ।
सुरुङमार्ग उद्घाटनसँगै सर्वसाधारणका सबै सवारी साधनलाई तत्काल सञ्चालनको अनुमति भने दिइने छैन ।
विभागका अनुसार प्रारम्भिक चरणमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक सवारी साधनलाई मात्र सुरुङमार्ग प्रयोग गर्न दिइनेछ ।
सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार सुरुङमार्गलाई चरणबद्ध रूपमा पूर्ण सञ्चालनमा ल्याइने योजना छ । उद्घाटन भएको एक साताभित्र सुरुङभित्र हुनसक्ने सम्भावित दुर्घटना, आगलागी वा अन्य विपद्को सामना गर्न सकिने क्षमता परीक्षण गर्न ‘मक ड्रिल’ (नमूना अभ्यास) सञ्चालन गरिनेछ ।
यस्तै, सुरुङमार्गको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै मोटरसाइकल तथा प्रज्वलनशील पदार्थ बोकेका सवारी साधनलाई भने सुरुङमार्ग प्रयोग गर्न निषेध गरिएको छ ।




















