
लुदअ बैशाख २३, काठमाण्डौ
पछिल्लो केही दिनदेखि चलिरहेको पानी पर्ने क्रम बुधबारदेखि कम हुने मौसमविद्ले बताएका छन् ।
बुधबारदेखि लगातार झरी तथा हावाहुरी, मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने क्रम कम हुने मौसमविद् वरुण पौडेलले जानकारी दिए । तर बुधबारदेखि नै टन्टलापुर घाम लाग्ने सम्भावना भने नरहेको, छिनछिनमा बदली हुने र हल्का वर्षा भने हुन सक्ने सम्भावना रहेको पौडेलले बताए ।
आज पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरैजसो ठाउँमा पानी परेको छ । आज देशभरिकै मौसम धुम्म रहेको र केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको उनले बताए ।
काठमाण्डौ उपत्यकामा बेलुकीपख सामान्य पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

