भारतले लिपुलेकमा बाटो बनाएको सरकारलाई थाहा थियोः परराष्ट्रमन्त्री ज्ञवाली

[sharethis-inline-buttons]

लुदअ काठमाडौं, बैशाख २८
परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले लिपुलेकमा भारत बाटो बनाइरहेको विषय सरकारलाई जानकारी भएको स्वीकारेका छन् । यद्यपि यसबारे नेपालले राखेको चासोको जवाफ नै नदिई भारतले एकतर्फी बाटो उद्घाटन गरेको उनले बताए ।

आइतबार संसद बैठकमा भारतले वैशाख २६ गते बाटो उद्घाटन गरेकोप्रति सरकारको औपचारिक धारणा राख्दै मन्त्री ज्ञवालीले नेपाली भूमि समेत प्रयोग गरी धार्चुलाबाट लिपुलेकसम्म बाटो बिस्तार गरेकामा आपत्ति जनाए ।

नेपालको सीमा सन् १८१६ को मार्चमा भएको सुगौली सन्धि र त्यसपछिका तीन पूरक सन्धिबाट निर्देशित रहेको स्पष्ट पार्दै उनले भने, ‘नेपालको सीमा १८१६ मार्चको सुगौली सन्धि, सोही वर्ष डिसेम्बरमा भएको पूरक सन्धि, १९६० को नयाँ मुलुक फर्काउने पूरक सन्धि र १८७५ को पूरक सन्धिबाट निर्देशित छ । त्यस अनुसार महाकाली नदीको उद्गम थलो लिम्पियाधुरासहित त्यस पूर्वको क्षेत्र हो ।’

भारतले नेपाली भूमिसमेत प्रयोग गरी ७९ किलोमिटरको बाटो बनाएको तथ्य थाहा भएको उल्लेख गर्दै उनले सन् २००५ मा बाटो बनाउने निर्णय गरेको भारतले सन् २००८ मा शुरुवात गरेको र सन् २०१४ देखि तीब्र गतिमा काम भएको बताए ।

यसबारे नेपाल सरकारले सन् २०१५ मै असहमति जनाए पनि भारतले बाटो बनाउन नरोकेको र अहिले उद्घाटननै गरेकामा नेपाल सरकारको गम्भीर आपत्ति रहेको उनको भनाइ थियो ।

सन् २०१४ मा परराष्ट्र सचिव स्तरबाट सीमा विवाद टुंग्याउन सहमति भएकाले नेपाल सोही पक्षमा रहेको भन्दै उनले पछिल्लो पटक आफूहरुले वार्ताका लागि मिति प्रस्ताव गरी कूटनीतिक नोट पठाएपनि भारतले जवाफ नदिएको बताए ।


प्रकाशित : २०७७ बैशाख २८, आईतवार ०८:२६