नेकपाको अर्को स्थायी कमिटी बैठक ५ गते, केन्द्रीय कमिटी बैठक १० गते

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ पुस १, काठमाण्डौ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्ने र विशेष अधिवेशनका लागि राष्ट्रपति कार्यालय शीतल निवासमा निवेदन दर्ता नगर्ने सहमति गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीको स्थायी कमिटीको बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने र साथै राष्ट्रपति समक्ष संसद्को बैठकको माग गरेर पेस गर्ने भनेको आवेदन पनि फिर्ता गर्ने निर्णय सर्वसम्मतिले गरेको छ ।’

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्नु भएपछि नेकपाका ८३ जना सांसद्को हस्ताक्षरसहितको निवेदन बोकेर भीम राव र पम्फा भुसालसहितका नेताहरू दिनभर शीतल निवासमा बसेका थिए ।

राष्ट्रपति कार्यलयका सचिव हरि पौडेलको पर्खाइमा उनीहरू ६ घण्टासम्म शीतल निवासमा बसेका थिए । अध्यक्षहरूबीच सहमति भएको औपचारिक जानकारी आएपछि आफूहरू निवेदन दर्ता नगरि फिर्ता भएको नेता भीम रावलले जानकारी दिनुभयो ।

यसैबीच बुधबारको स्थायी कमिटी बैठकमा ओलीले मङ्गलबारको संवैधानिक परिषद्को बैठकले कुनै पनि निर्णय नगरेको जानकारी गराउनुभएको थियो । बुधबारको बैठक बस्नुअघि दुई अध्यक्षबीच दुई पटकसम्म छलफल भएको थियो ।

अध्यादेश र विशेष अधिवेशनमा दुई अध्यक्षबीच सहमति जुटेपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली बैठकमा सहभागी हुनुभएको हो । बुधबारको बैठकले अर्को स्थायी कमिटी बैठक यही ५ गते र केन्द्रीय कमिटी बैठक १० गते बस्ने निर्णयसमेत गरेको छ ।


प्रकाशित : २०७७ पुष १, बुधबार १५:२१