जितपुर। नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री गोकर्ण विष्टले बदलिँदो समय, प्रविधि र सामाजिक परिवेशअनुसार पार्टीको विचार, कार्यशैली तथा संगठनात्मक अभ्यासलाई रूपान्तरण गर्दै लैजानुपर्ने बताएका छन्।
नेकपा (एमाले) बाणगंगा नगर कमिटी, कपिलवस्तुले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उपाध्यक्ष विष्टले नयाँ पुस्ताको सोच, विज्ञान तथा प्रविधिको विकासलाई आत्मसात् गर्दै समयसापेक्ष विचारलाई पार्टीले पर्याप्त स्थान दिनुपर्नेमा जोड दिए।
उनले अबको प्रतिस्पर्धा ज्ञान, सीप, प्रविधि र नवीन सोचमा आधारित हुने उल्लेख गर्दै विज्ञान तथा प्रविधिमा दक्षता हासिल गरेका व्यक्तिले अवसरको सदुपयोग गरी आर्थिक समृद्धि हासिल गर्न सक्ने बताए। प्रविधिले आर्थिक रूपमा कमजोर व्यक्तिलाई समेत विश्वस्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरेको उनको भनाइ थियो।
जनवर्गीय संगठनहरू आफ्ना अधिकार र हितका लागि संगठित हुनुपर्ने उल्लेख गर्दै विष्टले कम्युनिस्ट पार्टीले प्रतिस्पर्धात्मक राजनीतिक प्रणालीमा आफूलाई थप सक्षम बनाउनुपर्ने बताए। बहुदलीय जनवादको मान्यतालाई आत्मसात् गर्दै जनताको विश्वास जित्ने गरी जबजलाई अझ समृद्ध बनाउनुपर्नेमा उनले जोड दिए।
विचार स्थिर र अपरिवर्तनीय विषय नभएको बताउँदै उनले समय र परिस्थितिअनुसार विचारको विकास तथा रूपान्तरण हुन सक्ने धारणा राखे। पार्टीभित्र नयाँ विचार, सिर्जनशीलता र क्षमतालाई उचित स्थान दिनुपर्ने उल्लेख गर्दै प्रगतिशील सोच र नवीन अभ्यासबिना संगठनलाई गतिशील बनाउन नसकिने बताए।
पार्टीभित्रका कमजोरी स्वीकार गर्दै प्रक्रियागत रूपमा सुधार गर्नुपर्ने उनको भनाइ थियो। विगतका गल्ती र कमजोरीबाट पाठ सिक्दै संगठनात्मक शैली परिवर्तन गर्नुपर्ने र एमालेलाई थप एकताबद्ध तथा बलियो बनाउनुपर्ने उनले बताए। समयसँगै युवाको जीवनशैली, सोच र अपेक्षा परिवर्तन भएकाले पार्टीले पनि आफूलाई सोहीअनुसार परिमार्जन गर्नुपर्नेमा उनले जोड दिए।
समसामयिक राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै विष्टले नयाँ भनिएका राजनीतिक दलहरूले संसदीय अभ्यासलाई कमजोर बनाउँदै लगेको र सरकारले सार्वभौमसत्तामाथि खलल पुर्याउने काम गरेको आरोप लगाए। प्रेसमाथि सरकारी हस्तक्षेपको विरोध गर्दै उनले लोकतान्त्रिक मूल्यमान्यता, प्रेस स्वतन्त्रता, मानव अधिकार र संस्थागत सन्तुलनको संरक्षण आवश्यक रहेको बताए।
यस्तो राजनीतिक परिस्थितिमा कार्यकर्ताको मनोबल उच्च राख्दै पार्टीलाई जनतासँग जोड्नुपर्ने उनको भनाइ थियो। कार्यकर्ता नेतामुखीभन्दा जनमुखी हुनुपर्नेमा जोड दिँदै तल्लो कमिटीबाट अनुमोदित भएर नेतृत्वमा आउने अभ्यासले पार्टी र संगठनलाई थप सुदृढ बनाउने उनले स्पष्ट पारे।
कार्यक्रममा उपाध्यक्ष विष्टले पार्टीलाई समयसापेक्ष, गतिशील र जनताप्रति उत्तरदायी बनाउँदै नयाँ पुस्ताको भावना तथा अपेक्षालाई सम्बोधन गर्नुपर्ने सन्देश दिएका थिए।




















