बिजुली सर्ट हुँदा धादिङमा गाउँ नै जल्यो, दुईजनाको मृत्यु

[sharethis-inline-buttons]

लुदअ धादिङ, बैशाख ९
बिजुली सर्टका कारण ग्रामीण धादिङमा दुईजनाको मृत्यु भएको छ ।

सोमबार राति धादिङको थाक्रे गाउँपालिका वडा नं ३ मोल्डुङ र लेखमोल्डुङ क्षेत्रको सामुदायिक विद्युत प्रसारण लाइनबाट प्रसारित विजुलीको ट्रान्समिटरमा आगो लाग्दा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो । साथै करिब आधा दर्जन गम्भीर घाइते भएका छन् ।

थाक्रे गाउँपालिकाकी उपाध्यक्ष अम्बिका रुपाखेतीले अहिलेसम्म दुईजनाको मृत्यु भएको र ६र७ जनालाई उपचारका लागि लगिएको जनाकारी आएको बताइन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले घटनाबारे जानकारी आएको बताउँदै प्रहरी र प्राविधिकहरुलाई त्यहाँ पठाउने तयारी गरिरहेको बताए ।

सो गाउँ पृथ्वी राजमार्गबाट ७ किलोमिटर माथि पर्छ । अहिले पानी परिरहेको र बाटो चिप्लो भएका कारण प्रहरीको गाडी घटनास्थलसम्म पुग्न नसक्ने भन्दै उनले प्रहरी र प्राविधिकलाई हिँडेरै पठाउन लागेको जानकारी दिए ।

‘हामी उद्दार र उपचारका लागि खटिएका छौं, त्यसपछि घटना किन भएको रहेछ, यसको कसले जिम्मेवारी लिने छानबिन गर्छौं । घटना गम्भीर छ, ट्रान्समिटर पड्किएर यसरी टाढाटाढाको गाउँ एकैपटक जलेको भन्ने थाहा थिएन’ प्रहरी उपरीक्षक रेग्मीले बताए ।

मृतकको पोस्टमार्टम र घाइतेको उपचारमा अहिले गाउँपालिका अध्यक्ष रामकुमार आचार्यसहितको टोली खटिएको छ । मृतकको शव अहिले खानीखोला प्रहरी कार्यालयमा ल्याइएको छ । घाइतेहरुलाई भने अस्पताल पठाइसकिएको छ ।


प्रकाशित : २०७७ बैशाख ९, मंगलवार ०३:३२