प्रदेश ५ सरकारले तराईका जिल्लालाई ८ लाख र पहाडी जिल्लालाई ५ लाख दिने

[sharethis-inline-buttons]

लुदअ बैशाख ११, रुपन्देही
प्रदेश ५ सरकारले कोरोना भाइरस जोखिम व्यवस्थापन गर्न बनेका प्रदेशका जिल्ला विपद् व्यवस्थापन समितिलाई ७८ लाख रुपैयाँ दिने निर्णय गरेको छ। बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशका १२ वटै जिल्लाका विपद् व्यवस्थापन समितिलाई उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो। निर्णयअनुसार प्रदेश विपद व्यवस्थापन कोषमा हालसम्म जम्मा भएको रकमबाट तराई जिल्लाका समितिलाई आठ लाख र पहाडी जिल्लाका समितिलाई ५ लाख रुपैयाँका दरले रकम प्रदान गरिने मुख्यमन्त्रीका प्रेश सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए।

यसअघि प्रदेश सकारले सबै जिल्लाका स्थानीय तहलाई १३ करोड रुपैयाँ अनुदान दिएको थियो। मन्त्रिपरिषद्को बैठकले वर्ष २०७७ का लागि ६ दिनको विदा अनुमोदन गरेको छ। निर्णय अनुसार प्रदेशभर चार वटा सार्वजनिक विदा र दुई वटा निश्चित समूदायलाई दिइने विदा गरि ६ वटा विदा अनुमोदन गरेको हो। जसअनुसार २०७७ सालमा माघ १ र २ गते माघी विदा, फागुन ३ गते प्रदेश स्थापना दिवस, स्थानीय तहले निर्णय गरेर दिन मिल्ने गरि कुनै एक दिन र निश्चित पर्व मनाउने समुदायलाई एक दिनको विदा दिईने छ।

रुकुम, रोल्पामा भूमे पुजा, थारुसमूदायको बडकवा अतवारी र पाल्पामा मनाइने भगवती जात्राको लागि सोही स्थान र समूदायका लागिमात्रै एक दिन विदा दिइने निर्णय गरिएको हो। त्यस्तै मन्त्रिपरिषद् बैठकले बाल रोग विशेषज्ञ डा। किरणमणि पौडेललाई लुम्बिनी प्रादेशिक अस्पतालमा हाजिर गराई कामकाजमा खटाउने निर्णय गरेको छ।


प्रकाशित : २०७७ बैशाख ११, बिहीबार ०७:०९