
लुदअ काठमाडौं, बैशाख १२
प्रधानमन्त्री केपी ओलीले कोरोनाको संकटका कारण पुनर्निर्मित रानीपोखरी आजैका दिन उद्घाटन गर्ने योजना बिथोलिएको बताएका छन् ।
भूकम्प स्मृति दिवसमा दिन जारी गरिएको सन्देशमा उनले भनेका छन्, ‘।।।मल्लकालीन नासो रानी पोखरीको आजकै दिन पुनःनिर्माण सम्पन्न गरी उद्घाटनको तयारी थियो । नेपालको शैक्षिक जागरणको पहिलो विद्यालय दरबार हाइस्कूलको नवनिर्माण सम्पन्न भइसकेकाले त्यसको पनि सगौरव उद्घाटन हुने थियो, सिंहदरबारको रेट्रोफिटिङ र पुनर्निर्माण कार्य सम्पन्न भैसक्ने थियो ।’
भूकम्पपछिको राहत, उद्धार, पुनःनिर्माण तथा पुनःस्थापनाको काममा अघि बढेझै सबै नेपालीको जीवन रक्षाका लागि कोरोना भाइरसविरुद्धको लडाइमा एकताबद्ध हुन उनले सबैमा आग्रह गरेका छन् । उनले विषम परिस्थितिका बीच अनेकन दुःखकष्ट भोग्दै कोरोना रोकथाम तथा नियन्त्रणको अभियानमा जुटन पनि आग्रह गरेका छन् ।
“सदृश्य भग्नावशेष निर्माण गर्न जति गाह्रो हुन्छ, अदृश्य शत्रुसँग लड्ने कार्य त्यसभन्दा धेरै जटिल हुँदो रहेछ भन्ने हामी सबैले बुझिरहेकै छौँ”, सन्देशमा भनिएको छ, “यतिबेला विश्वका विभिन्न देशजस्तै हामी पनि अर्को विश्वव्यापी महाविपद् कोरोना भाइरसको महामारीविरुद्धको लडाइमा छौँ, त्यसैका कारण विगत एक महिनादेखि सिङ्गो देश लकडाउनमा रहन बाध्य भएको छ, लकडाउनका कारण पुनःनिर्माण तथा पुनस्र्थापनाका कार्यमा गम्भीर असर परेको सर्व्विदितै छ, मलाई विश्वास छ, कोरोना भाइरस विरुद्धको यस लडाइमा हामी विनाशकारी भूकम्पपछि सिर्जित विपत्तिमा जस्तै संयम र साहसका साथ सामना गरेर अघि बढ्न सक्षम हुनेछौँ ।”
सन्देशमा सही नीति, सहकार्य र स्रोत व्यवस्थापन तथा परिचालनको प्रबन्ध मिलाएरै हामी यस लडाइमा विजयी हुनेछौँ भनिएको छ । प्रधानमन्त्री ओलीले पुनःनिर्माण तथा पुनःस्थापनाको अवधारणा र अपनाएको विधि विश्वका अरु देशका लागि पनि अनुकरणीय हुनसक्ने स्तरको रहेको र सबैको सहयोग, सहकार्य, दृढता र संकल्पकै कारण सम्भव भएको उल्लेख छ । पुनःनिर्माण तथा पुनःस्थापनामा सहयोग र्पुयाउनु हुने स्थानीय जनसमुदाय, राजनीतिक दल तथ जनप्रतिनिधि, निर्माणकर्मी, प्राविधिक, राष्ट्रसेवक, सञ्चारकर्मी एवं राष्ट्रिय तथा अन्तरराष्ट्रिय सहयोगी सबैलाई उनले धन्यवाद दिएका छन् ।

