ओलीको प्रस्तावमा खनाल–नेपाल समूह सशङ्कित, योगेश भट्टराईद्वारा भने स्वागत

[sharethis-inline-buttons]

जेठ २४, काठमाण्डौ
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको एकताको प्रस्तावलाई खनाल–नेपाल समूहले राम्रो नियत नभएको प्रतिक्रिया दिएको छ । एकताको आह्वान राम्रो नियतबाट नआएको र यसमा धेरै षड्यन्त्रहरु रहेको खनाल–नेपाल समूहका नेताहरुको आरोप छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि दिएको समर्थन फिर्ता गर्नुपर्ने सर्त राखेकाले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली २०७५ को जेठ ३ पूर्वको अवस्थामा फर्कन तयार रहेको भनेर विश्वास गरिहाल्न नसकिने नेता युवराज ज्ञवालीले बताउनुभयो ।

उज्यालोसँग कुरा गर्दै उहाँले कुनै पनि हालतमा प्रतिनिधि सभा विघटनलाई मान्न नसकिने भन्दै यो अध्यक्ष ओलीको अर्को ‘फण्डा’ मात्रै रहेको बताउनुभयो । ओलीको एकता आह्वानमा उल्लेख भएका ६ वटै बुँदामाथि आवश्यक छलफल गर्नुपर्ने र षड्यन्त्रमूलक ढङ्गले एकता आह्वान भएको उहाँको आरोप छ ।

यो पनि पढ्नुहोस् ।
माधव नेपालको ६ बुँदामा ओलीको ६ बुँदे नै प्रतिबद्धता प्रस्ताव
उहाँले भन्नुभयो–‘यो एउटा फण्डा हो, राम्रो नियतले आएको भए त प्रतिनिधि सभा विघटनको कदम गलत हो भनेर भन्नुपर्थ्यो । देउवालाई दिएको समर्थन फिर्ता गर्नुपर्ने सर्तले पनि यो षड्यन्त्रमूलक छ ।’

यस्तै खनाल–नेपाल समूहका अर्का नेता जीवनराम श्रेष्ठले सफा नियतले एकता आह्वान नभएको बताउनुभएको छ । सबै बुँदाहरु षड्यन्त्रमूलक रहेको भन्दै उहाँले अध्यक्ष ओलीको आह्वानअनुसार अहिले नै विश्वास गरिहाल्ने ठाउँ नरहेको बताउनुभयो।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले पहिलेदेखि नै संविधानलाई मास्ने काम गर्दै आएको र अहिले पनि त्यसप्रति गल्ती महसुस नगरेको भन्दै उहाँले यस्ता खालका षड्यन्त्रमा बहकिएर फस्न नहुने बताउनुभयो । आफूहरु प्रतिनिधि सभा विघटनको कदमलाई मानेर कांग्रेस सभापति शेरबहादुर देउवालाई दिएको समर्थन फिर्ता गर्न नसकिने भन्दै उहाँले आफू हार्ने भएपछि विभिन्न ‘फण्डा’ देखाउँदै आएको ओलीले यो पनि अर्को ‘फण्डा’ नै रहेको आरोप लगाउनुभयो ।

योगेश भट्टराईद्वारा स्वागत

नेता योगेश भट्टराईले भने अध्यक्ष ओलीको आह्वानलाई स्वागत गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले नेकपा एमालेको एकताका लागि अध्यक्ष ओलीको आह्वान सकारात्मक रहेको बताउनुभएको हो ।

 

सर्वोच्चमा विचाराधीन विषयमा सबै सम्भावनालाई ख्याल गर्दै मूलतस् संविधानको रक्षा, लोकतान्त्रिक प्रक्रियाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निष्कर्षमा पुग्नु उपयुक्त हुने तर अहिले अध्यक्ष ओलीले गरेको आह्वान सकारात्मक रहेको उहाँको भनाइ छ ।

ओलीको प्रस्तावबारे साझा धारणा बनाउन खनाल–नेपाल समूहको स्थायी कमिटी सदस्यहरुको बैठक आज बस्दै छ । बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको नेताहरुले बताएका छन् ।

 


प्रकाशित : २०७८ जेष्ठ २४, सोमबार ०२:४१