पालिकाका कर्मचारीको राजीनामा र अवकाशपत्रबारे मन्त्रालयद्वारा नयाँ व्यवस्था

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ ११ माघ, काठमाडौं
सरकारले पालिकाका कर्मचारीको राजीनामा र अनिवार्य अवकाशपत्रको स्वीकृत पालिकाबाट गर्ने नयाँ व्यवस्था गरेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै कर्मचारी समायोजन ऐन–२०७५ अनुसार पालिका समायोजन भएका र ऐनअनुसार पालिकामा नियुक्त भएका कर्मचारीको राजीनामा र अवकाशपत्रको स्वीकृत सम्बन्धित तहबाट गर्ने निर्णय गरेको हो ।

मन्त्रालयको पालिका कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत नरेन्द्रप्रसाद न्यौपानेले नयाँ नियुक्ति भएका तथा समायोजन भएका कर्मचारीको राजीनामा र अवकाशपत्रको स्वीकृत पालिकाबाट गर्ने र पालिकामा स्वीकृत गर्ने कर्मचारी नभएमात्र प्रदेशबाट गर्ने नयाँ व्यवस्था गरिएको बताउनुभयो । कामलाई सरलीकृत तथा पहुँचयोग्य बनाउन सम्बन्धित तहबाट नै स्वीकृत गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

अधिकृत न्यौपानेका अनुसार गाउँपालिकाका पाँचौँ र छैठौँ तहसम्मका कर्मचारीका लागि राजपत्राङ्कित तृतीय श्रेणीको प्रमुख प्रशासकीय अधिकृतले गर्ने, गाउँपालिकाकै सातौँ र आठौँ तहसम्म कर्मचारीको सम्बन्धित गाउँपालिकाको राजपत्राङ्कित तृतीय श्रेणीको प्रमुख प्रशासकीय अधिकृतले पेस गरी जिल्लाको राजपत्राङ्कित द्वितीय श्रेणीको जिल्ला समन्वय अधिकारीले गर्ने नयाँ व्यवस्था गरिएको छ ।

यस्तै नगरपालिकाको पाँचौँदेखि आठौँ तहसम्मका कर्मचारीको राजीनामा र अवकाशपत्र राजपत्राङ्कित द्वितीय श्रेणीको प्रमुख प्रशासकीय अधिकृतले स्वीकृत गर्ने र सो नभएसम्म सम्बन्धित जिल्लाको राजपत्राङ्कित द्वितीय श्रेणीको जिल्ला समन्वय अधिकारीले गर्नेछन् । उपमहानगरपालिका र महानगरपालिकाको नवौँ र दशौँ तहसम्मका कर्मचारीको राजीनामा र अवकाशपत्र राजपत्राङ्कित प्रथम श्रेणीको प्रमुख प्रशासकीय अधिकृतले गर्नेछन् ।

पालिकामा तोकिएको दरबन्दीबमोजिमको कर्मचारी कार्यरत नरहेको अवस्थामा सम्बन्धित प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवले राजीनामा स्वीकृत गर्ने वा सङ्घीय मन्त्रालयबाट स्वीकृत गर्ने व्यवस्था गरिएको छ ।


प्रकाशित : २०७७ माघ ११, आईतवार ०१:३२