बुटवल वैशाख १७
लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमै आइसीयू बेड अभाव हुँदा एकजना कोरोना बिरामीको मृत्यु भएको छ ।वैशाख १५ गते इमर्जेन्सीमा भर्ना भएका बुटवल ११ का ८३ वर्षीय पुरुषमा १६ गते कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमण पुष्टि भएपनि अस्पतालमा आइसीयू बेड खाली नहुँदा उनी २४ घण्टादेखि इमर्जेन्सी वार्डमै बेडको पर्खाइमा रहेका थिए ।
इमर्जेन्सीमा अक्सिजनको सहायतमा राखिएको उनको शुक्रबार बिहान ९ बजेर २८ मिनेट जादा ज्यान गएको अस्पताले जानकारी दिएको छ । योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १८८ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । रुपन्देहीमा बितेको २४ घण्टामा मात्रै ६ जना कोरोना संक्रमितको ज्यान गएको थियो । रुपन्देहिमा अहिले २५ सय ५२ जना कोरोनाका सक्रिय बिरामी छन् ।
पछिल्लो २४ घण्टामा मात्रै रुपन्देहीमा १०४४ जनाको पीसीआर जाच गर्दा ४ सय ४७ जना नया संक्रमित थपिएका थिए । रुपन्देहीमा हालसम्म १२ हजार ५८ जना संक्रमित भएकोमा ९ हजार ३ सय १९ जना कोरोना मुक्त भइसकेका छन् ।


















