हरि आचार्य, कपिलवस्तु
नेपाल निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष प्रकाश गौतमले निजामती कर्मचारीहरुले लगाउने सेतो सर्ट जस्तै नियत पनि स्वच्छ हुन आवश्यक रहेको बताउनुभएको छ । नेपाल निजामती कर्मचारी संगठन शिवराज नगर कमिटिको नगर स्तरीय प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष गौतमले राष्ट्रको सेवा गर्ने हो भनी छातीमा हात राखेर काम गरेमा कर्मचारी प्रशासन उत्कृष्ट हुने बताउनु भएको हो ।
अध्यक्ष गौतमले केन्द्र तथा प्रदेश तहका नेता स्थानीय तहको उम्मेद्वार बन्न खोज्ने तर कर्मचारी स्थानीय तथा प्रदेशमा समायोजन हुन नमानी केन्द्रमा समायोजन हुन खोज्ने प्रवृत्तिको अन्त्य नभएसम्म सेवा प्रवाह सकारात्मक हुन नसक्ने बताउनुभयो । उहाँले जुन सेवामा समायोजन भए पनि कर्मचारी सन्तुष्ट हुने खालको ऐन आवश्यक रहेको बताउनुभयो ।
अध्यक्ष गौतमले कर्मचारी सरुवा तथा बढुवाको निम्ति कसैसँग हारगुहार गर्नु पर्ने अवस्थाको अन्त्य हुन आवश्यक रहेको बताउदै उसको दक्षता, अवधि अनुसार स्वचलित रुपमा सरुवा बढुवा हुनेखालको निति अवलम्बन गर्न अत्यावश्यक रहेको बताउनुभयो ।
उहाँले नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीले कुनै पनि पुर्वाग्राही नराखी सबै नागरिकलाई मुस्कान सहितको सेवा प्रदान गर्न सम्पुर्णलाई अनुरोध गर्नुभयो ।





















