लुदअ चैत ३०, मोरङ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न नेकपा एमाले सक्षम रहेको बताउनुभएको छ ।
एमाले विराटनगर महानगरले आज बुधवार आयोजना गरेको वृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा उहाँले विभिन्न भाषाभाषी र भूगोलमा बस्ने सम्पूर्ण नेपालीको साझा अभियानबाट सङ्घीय गणतन्त्र र नागरिकमा सार्वभौमसत्ता निहित गर्ने महान् अभियानमा सरिक बनाउने कार्यमा पार्टी लागेको बताउनुभयो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले नेपालको पानी नेपालीका लागि प्रयोग हुनुपर्नेमा जोड दिँदै उद्यमी, व्यवसायीले पर्यटन र निर्यातमुखी उद्योग स्थापना गरेर देशलाई आत्मनिर्भर बनाउनुपर्ने र यसमा आफ्नो पार्टीले सक्दो सहयोग गर्ने उल्लेख गर्नुभयो ।
उहाँले देशलाई अस्थिरतातर्फ धकेल्ने कोही कसैको कार्यलाई कहिले पनि सफल हुन नदिने दृढता व्यक्त गर्दै जनप्रतिनिधिविहीन पालिका बनाउने षड्यन्त्रलाई नेपालीले नमान्ने बताउनुभयो ।




















