लुदअ बैशाख १२, रसुवा
रसुवामा पाँच दलीय गठबन्धन तोडिएको छ । आज सोमवार दिउँसोसम्म पनि सहमतिको प्रयास भएकोमा सहमति नभएपछि सबै दलले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । नेकपा माओवादी केन्द्रले दिउँसो ४ बजेपछि उम्मेदवारी दर्ता गराएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीबीच गठबन्धन गरी चुनावमा जाने तयारी भएको थियो । नेकपा माओवादी केन्द्र का संयोजक मेघनाथ घिमिरेले गठबन्धन टुटेसँगै छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरिएको बताउनुभयो ।
जिल्लामा अहिले उम्मेदवारी दर्ताको काम भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
वैशाख ३० गते हुने पालिका चुनावका लागि रसुवामा १७ दलले भाग लिँदै छन् । पाँच वटा गाउँपालिका रहेको रसुवामा २७ वटा वडा रहेका छन् ।




















