हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको मायादेवी गाँउपालिकाका अध्यक्ष र उपाध्यक्षले मुस्लिम धर्मगुरुबाट मुस्लिम परम्परा अनुसारको दुवा (अल्लाहको प्रार्थना) र हिन्दु पुरोहितबाट स्वस्ती वाचन गराई पदभार ग्रहण गरेका छन् । वडा नम्बर १ पकडीस्थित गाउँपालिकाको कार्यालयमा नवनिर्वाचित अध्यक्ष वलिउद्दिन मुसलमान र उपाध्यक्ष सरस्वती यादवले पदभार ग्रहण गरे । अध्यक्ष मुसलमानले कुर्सीमा बस्नुपूर्व मायादेवी गाउँपालिका वडा नम्बर २ अभिरावका मौलाना मोहम्मद तारिखले दुवा गरे भने मायादेवी १ का पुरोहित जनार्दन मिश्राले स्वस्ती वाचन गरे ।
त्यसैगरी उपाध्यक्ष सरस्वती यादवले पनि अध्यक्ष मुसलमानले जस्तै मौलानाबाट दुवा र पुरोहितबाट स्वस्ती वाचन गराएर पदभार ग्रहण गरिन् । हिन्दू पुरोहित मिश्राले पदभार ग्रहणका क्रममा अध्यक्ष र उपाध्यक्षले सामाजिक सदभावको नमुना प्रस्तुत गरेको बताए । त्यो भन्दा पहिला अध्यक्ष मुसलवानले उपाध्यक्ष, सबै वडाध्यक्ष तथा वडासदस्यहरुलाई शपथ ग्रहण गराएका थिए ।
पदभार पछिको कार्यपालिकाको पहिलो बैठकले तीनवटा निर्णय गरेको अध्यक्ष वलिउद्धिन मुसलमानले जानकारी दिए । शिशु र गर्भवतीको सुरक्षालाई ध्यानमा राखी प्रत्येक वडामा एम्बुलेन्स सञ्चालन गर्ने, बालविकास शिक्षा प्रवर्द्धन गर्ने र फुसको छानामुक्त गाउँपालिका बनाउने निर्णय गरेको उनले जानकारी दिए । मायादेवी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा निर्वाचित वलिउद्दिन मुसलमान र सरस्वती यादव नेपाली कांग्रेस पार्टीबाट उम्मेदवार बनेका थिए ।
त्यस्तै मायादेवी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा निवर्तमान जनप्रतिनिधिहरुलाई विदाई समेत गरिएको छ । गाउँपालिका अध्यक्ष मुसलवानको अध्यक्षता, पुर्व मन्त्री चक्रपाणि खनाल (बलदेव) को प्रमुख आतिथ्यता, सांसद अतहर कमाल मुसलवानको विशिष्ठ आतिथ्यता लगायत विभिन्न पार्टीका प्रतिनिधिहरुको आातिथ्यता रहेको कार्यक्रम गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परमेश्वर यादवको स्वागत मन्तब्य तथा लेखा अधिकृत प्रकाश गौतमको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा निवर्तमान जनप्रतिनिधिहरुलाई मायाको चिनो प्रदान गर्दै विदाई गरिएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले जुन पार्टीबाट निर्वाचन लडेपनि अब मायादेवीको विकासका लागि सबैजना एकजुट हुनुपर्ने बताएका थिए ।




















