हरि आचार्य, कपिलवस्तु
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कपिलवस्तुले बाणगंगा नगरपालिका भित्र रहेका माध्यमिक विद्यालयहरुले गरेको शुल्क वृद्धि तत्काल फिर्ता लिन जोडदार माग गरेको छ । हालै नगरपालिकाका विभिन्न विद्यालयहरुले कक्षा ११ र १२ को मासिक शुल्कमा मनपरि तरिकाबाट अत्याधिक शुल्क वृद्धि गरेकाले यसलाई तत्काल फिर्ता गर्न माग गर्दै बाणगंगा नगरपालिकाका मेयर चक्रपाणि अर्याललाई ध्यानाकर्षण पत्र बुझाईएको अनेरास्ववियुका जिल्ला अध्यक्ष दयाराम पौडेलले जानकारी दिनुभयो । साथै माध्यमिक विद्यालयको यो निर्णय प्रति संगठनले घोर आपत्ति जनाएको छ ।
ध्यानाकर्षण पत्रमा मााध्यमिक विद्यालयहरुले संविधानलाई ठाडो चुनौती दिदैं शुल्क बढाई व्यापार गरिरहेको र गरिब विपन्नका छोराछोरी पढ्न पाउने अधिकारबाट समेत बञ्चिन हुनुपर्ने आवस्था आएको उल्लेख छ । बाणगंगा नगरपालिका भित्रका माध्यमिक विद्यालयहरुमा बढेको शुल्क फिर्ता गर्न ध्यानाकर्षण गराउदै बढेको शुल्क फिर्ता नभए कडा भन्दा कडा आन्दोलन गर्न अनेरास्ववियु बाध्य हुने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

अनेरास्ववियुका जिल्ला अध्यक्ष दयाराम पौडेल, सचिव सन्दिप आचार्य, सह–सचिव बिष्णु घिमिरे, संगठन बाणगंगा नगर अध्यक्ष सन्दिप न्यौपाने, जिल्ला सदस्य मधुसुदन भुसाल लगायतको टोलिले ध्यानाकर्षण पत्र बुझाईएको हो ।
अनेरास्ववियु कपिलवस्तुले यस अघि पनि शुल्क वृद्धि फिर्ता गर्न माग गर्दै पब्लिक क्याम्पस संघलाई ज्ञापन पत्र बुझाएको थियो ।




















