लुदअ भदौ ६, काठमाण्डौ
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो भनेर भन्न सत्तारूढ दलका नेताहरू डराएको आरोप लगाउनुभएको छ । अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नामै लिएर त्यो भूमि नेपालीको हो भनेर चुइँक्क बोल्न नसकेको बताउनुभयो ।
आज सोमवार ललितपुरमा आयोजित विभिन्न पार्टीबाट आएका नेता, कार्यकर्तालाई पार्टी प्रवेश गराउने कार्यक्रममा बोल्दै उहाँले एमालेले भने त्यो जमिन समावेश गरेर नेपालको नक्सा जारी गर्ने काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘एक सय ४६ वर्षदेखि हामीले भोगचलन गरेको जमिन ६० वर्ष अगाडि हाम्रो हातबाट खोसेर अरूले नै लगेको रहेछ । त्यो जमिन फिर्ता ल्याउन कसैले आवाज उठाउँदैन, बोल्दैन । नेकपा एमाले बोल्यो र हामीले नक्सा जारी गर्यौँ । म सुन्छु– यो कुरा भारतलाई मन परेको छैन रे । भारतलाई मन पर्छ कि पर्दैन होइन हामी आफ्नो जमिन फिर्ता मागिराखेका छौँ । त्यत्ति पनि भन्न नपाउने रु त्यस्तो पनि हुन्छ रु त्यस कारण यो मन पराउनुपर्छ, फिर्ता गर्नुपर्छ । अहिलेको गठबन्धनले लिम्पियाधुरा, लिपुलेक, कालापानी हाम्रो हो भनेर भन्न सक्छन्, बोल्न सक्छन् रु म शेरबहादुर देउवा, प्रचण्ड र माधवकुमारलाई सोध्न चाहन्छु– लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको हो कि होइन रु उहाँहरू बोल्नुहुन्न । कसको हो लिम्पियाधुरा, लिपुलेक, कालापानी रु’
कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सत्तारूढ दलका नेताहरू आफ्ना छोरी–बुहारी, श्रीमती, साला, आफन्तहरूलाई मात्रै माथि उठाउने काममा केन्द्रित भइरहेको आरोप लगाउनुभयो । सत्तारूढ गठबन्धनले राजनीतिलाई दुस्मनीको विषय बनाएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । देशलाई बरबादी हुनबाट बचाउन आउँदो चुनावमा एमालेले बहुमत ल्याएर सरकार बनाउनुपर्ने उहाँको जिकिर छ ।




















