किसानलाई ठुलो संकट पर्दा पनि प्रदेश सरकार चुईक्क बोल्दैन : सांसद न्यौपाने

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
लुम्बिनी प्रदेशका सांसद गिरधारीलाल न्यौपानेले पशुमा देखिएको लम्पी स्किन बाट कृषकहरु आज ठुलो संकटमा परेको बताउनु भएको छ । प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै सांसद न्यौपानेले बर्षाको समयमा कृषक माथि ठुला ठुला समस्या आइपर्दा समेत लुम्बिनी प्रदेश सरकार गम्भिर बन्न नसकेको उहाँले बताउनुभएको हो ।

नेकपा (एमाले) का केन्द्रिय सदस्य एवम् कृषि तथा पशुपंक्षी विभाग प्रमुख समेत रहनुभएका प्रदेश सांसद न्यौपानेले लम्पि स्किनबाट १ लाख ८ हजार बढी संक्रमित भएकोमा बिरामी पशु ७८ हजार ९ सय ८४ रहेको र ५ हजार ८९ को मृत्यु हुंदा पनि सरकार चुप लागेर बस्नु लज्जास्पद रहेको बताउनुभएको हो ।

जम्मा २७ हजार १ सय २८ पशुलाई मात्र खोप लगाईएको र संक्रमण नभएका २१ लाख पशुहरुलाई खोपको व्यवस्था गर्नुपर्नेमा सरकार चुप लाग्दा सरकारले प्रदेश सरकार खोज्नुपर्ने बेला आएको बताउनुभयो ।

त्यस्तै सांसद न्यौपानेले अहिले उक्त रोगका कारण कयौँ पशु मर्न थालेपछि बिमा कम्पनीहरुले पशुको बिमा गर्न छोडेको बताउनु भएको छ । बिमा कम्पनीहरुले बिमा गरेका कयौँ पशु मरेपनि बिमा बापतको रकम दिन आनाकानी गरेको भन्दै त्यस तर्फ सचेत हुन उहाँले सरकारको ध्यान आकर्षण गर्नुभएको थियो ।

प्रदेश सांसद न्यौपानेले किसानले अत्महत्या गर्ने स्थितीमा पुग्दा समेत सरकारले किसानका समस्या नसुनिरहेको बताउनु भयो । दुखमा सरकारले साथ दिने आसाका साथ लुम्बिनीका जनताले भोट दिएर लुम्बिनी प्रदेश सरकार बनाएपनि अहिले आएर सरकार झण्डा, नारामा मात्र सिमित रहेकाले तत्काल यस प्रति ध्यान दिन ध्यानाकर्षण गराउनुभएको हो ।


प्रकाशित : २०८० श्रावण ११, बिहीबार १८:२६